डडेलधुरा- निर्मला हत्या प्रकरणकाे प्रमाण मेटाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न भएकाे आराेप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट र छानबिनमा संलग्न डिएसपी अंगुर जीसीलाई अदालतमा उपस्थित हुन २१ दिनकाे समय दिइएकाे छ।
जिल्ला अदालत, कञ्चनपुरले बिहीबार उपस्थित नभएका दुबै प्रहरी अधिकारीलाई समय थप गर्दै अदालतमा २१ दिनभित्र उपस्थित हुन आदेश दिएकाे हाे।
घटनाकाे प्रमाण मेटाउने तथा शान्ति सुव्यवस्था राख्न नसकेकाे भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी विष्टलाई यसअघि नै बर्खास्त गरिएकाे छ। हत्याकाण्डको छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सिआइबी'को टोलीका प्रमुखका रुपमा खटिएका डिएसपी जीसीलाई भने शंकाष्पद भनी नियन्त्रणमा लिइएकामाथि यातना दिएकाे भन्दै निलम्बन गरिएकाे छ।
'एमिकस क्युरी' गठन हुने
बिहीबार सरकारी वकिलको कार्यालयका अनुसार निर्मला हत्याकाण्डको प्रमाण मेटाउन र निर्दोषलाई यातना दिई अभियुक्त बनाउन भूमिका खेलेका अन्य ८ जना प्रहरी अधिकारीविरुद्ध जिल्ला अदालतमा दायर भएकाे मुद्दामा 'एमिकस क्युरी' गठनको आदेश पनि अदालतले दिएकाे छ।
'एमिकस क्युरी' गठन प्रक्रियामा गएपनि अदालतले अभियुक्तहरुको बयान लिने क्रम पनि जारी राखेको छ। अदालतमा दायर मुद्दाका अतिविशिष्ट पक्षबारे बुझ्न 'एमिकस क्युरी'को गठन गर्ने अदालती परम्परा छ।
जिल्ला अदालत र उच्च अदालतका बार एसोसियसनलाई 'एमिकस क्युरी'मा सहभागी हुने कानुन व्यवसायीको सूची माग गरिएको छ। बार एसोसियसनले सिफारिस गरेका कानुन व्यवसायीहरुले दिने रायका आधारमा अदालतले कारबाही अगाडि बढाउने छ।
'एमिकस क्युरी'ले के गर्छ?
अदालतले 'एमिकस क्युरी'लाई ३ वटा विषयमा राय दिन सुझाएको छ। मुद्दाको हदम्याद, जाहेरी दिने व्यक्तिहरुको कानुनी हैसियत र अभियुक्तहरुविरुद्ध सोझै मुद्दा चलाइएको विषयमा क्युरीले सुझाव दिनेछ। सुझाव सर्वसम्मत भए अदालत सोझै मुद्दामा प्रवेश गर्नेछ भने क्युरीमैं मत बाझिएमा बहस हुनेछ।
क्युरीले मुद्दाको हदम्याद सकिएको वा नसकिएको भन्ने बारेमा छलफल गर्नेछ। निर्मला पन्तकाे बलात्कारपछि गएकाे साउन १० मा हत्या भएकाे थियो भने फागुन २२ मा मात्रै मुद्दा दर्ता गरिएको छ। निर्मलाकी आमा दुर्गादेवी बुवा यज्ञप्रसादले प्रमाण मेटाएको विषयमा र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले आफ्ना भाईलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।
साथै, आठै जना अभियुक्तविरुद्ध मुद्दा दायर गर्दा विभागीय स्वीकृति लिन आवश्यक भए/नभएको बारेमा पनि क्युरीले सुझाउने छ।
उच्च अदालत बार र जिल्ला बारले क्युरीका सदस्यहरुको नामावली आइतबारसम्म अदालतमा पठाउने पठाउने बताइएकाे छ। त्यसपछि क्युरीको बैठक बस्नेछ। क्युरीमा मतभेद देखिए खुला इजलासमा सदस्यहरुले आफ्नो राय राख्नेछन्।
बुधबार सरकारी वकिल कार्यालय कञ्चनपुरले दर्ता गरेको मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले कानुनअनुसार अभियुक्तहरुको बयान लिन नमिल्ले तर्क गरेपछि अदालतले 'एमिकस क्युरी' गठन गरेको हो। प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले प्रारम्भिक सुनुवाईमैं मुद्दा खारेजीको माग गरेका थिए।
तर, जिल्ला अदालत कञ्चनपुरले मुद्दा खारेज नगरी 'एमिकस क्युरी' गठनको आदेश दिएको छ। अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले प्रारम्भिक सुनावाइका आधारमा मुद्दालाई खारेज गर्न नमिल्ले भएकोले प्रतिवादीको बयान लिन समेत आदेश जारी गरिएको बताए।
‘प्रारम्भिक सुनवाइपछि प्रतिवादीका कानुन व्यवसायीको मागभन्दा फरक अदालतले प्रतीवादीको बयान लिने र त्यसपछि मात्रै मुद्दाको भित्री विषयमा प्रवेश गर्ने आदेश जारी गरिएको छ’, अवस्थीले भने।
विष्ट र जिसी फरार घोषित
अभियुक्तमध्येका तत्कालीन एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहीबार दोस्रो दिन पनि अदालतमा उपस्थित नभएपछि उनीहरुलाई प्रहरीले फरार श्रेणीमा राखेको छ।
अदालतले भने विष्ट र जिसी दुबैजनालाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको श्रेस्तेदार अवस्थीले बताए।
बिहीबार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काको बयान लिइएको छ। उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी २ मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ। उनीहरुसहित अन्य ४ जना प्रहरी हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।