काठमाडौं– न्यायिक विचलन भेटिएकाे भन्दै काठमाडाै जिल्ला अदालतका न्यायाधीश भरत लम्साल कारबाहीमा परेका छन्। उनलाई कारबाही स्वरुप सप्तरी जिल्ला अदालत सरुवा गरिएकाे छ।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले न्यायीक विचलनमा परेकाे उजुरि हेरेपछि न्यायाधीश लम्साललाई सरुवा गरेका हुन्।
आफू पदमा आएपछि एक विशेष निगरानी समिति गठन गरी देशभरका जिल्ला तथा उच्च अदालतकाे न्याय सम्पादनकाे प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। साेअनुसार प्रधानन्यायाधीश राणाले पदमा आसिन भएको पहिलाे हप्तामै न्याय सम्पादनमा विचलन देखिएकाे उजुरी परेका न्यायाधीशहरुलाई धमाधम सरुवा गर्दै आक्रमक 'एक्सन' थालेका थिए।
यसअघि विराटनगर उच्च अदालतका ७ जना न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएकाे थियाे।
३८ सय किलो सुन प्रकरणमा पक्राउ परी मुद्दा खेपेका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिँदा न्यायिक मर्यादा पालन नगरेकाे भन्दै ती न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको हो।
सचिवालयमा तानिने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटा छन्।
एउटै अदालतबाट ७ न्यायाधीशमाथि छानबिन हुनु नेपालकाे न्यायालयकाे इतिहासमै पहिलाे घटना हाे। न्यायपरिषद् तानिएका सबै न्यायाधीशहरुमाथि एउटै मुद्दाकाे सुनवाइकाे क्रममा न्यायिक विचलन हुनेगरी आदेश दिएकाे आराेप छ।
विभिन्न जिल्ला अदालतमा कार्यरत २० न्यायाधीशहरुलाई पहिलो चरणमा अनुसन्धान गर्ने तयारी न्याय परिषद्को सूक्ष्म निगरानी समितिले गरेको थियो। न्याय परिषद्मा परेको उजुरीका आधारमा जिल्ला अदालतसँगै देशभरका उच्च अदालतमा गलत नियत राखी भएका फैसलामा सरिक न्यायाधीशमाथि निगरानी तथा छानबिन थालिएकाे थियाे।
न्यायपरिषद्मा तानिएका न्यायाधीशहरुमाथि अहिले विस्तृत छानबिन चलिरहेको छ। प्रधानन्यायाधीश न्यायपरिषद्को अध्यक्ष हुन्छन्।
न्यायाधीशहरुले गलत नियतका साथ न्याय सम्पादन गरी आदेश उल्ट्याएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले न्याय परिषद्काे ध्यानाकर्षण गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।