काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छिन्।
उनले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छिन्।
'संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ', सन्देशमा भनिएको छ।
‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिकाे भनाइ छ।
यसै सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताए। आज एक शुभकामना सन्देश जारी गर्दै उनले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको तर्क गरे।
उपराष्ट्रपतिकाे सन्देशमा भनिएकाे छ, 'जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ। संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुसीको कुरा हो। संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु।'
संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको उनको भनाइ छ। उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्। उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्ने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरे। परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताए।
'तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुशी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कूरीति चुनौतिका रुपमा रहेका छन्। तसर्थ हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नसक्नै पर्दछ', प्रधानमन्त्रीले भनेका छन्, 'हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन्। अब हामीले विलम्ब नगरी विभेद र कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाजनिर्माण गर्न सक्नुपर्दछ।'




प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुसी व्यक्त गरेका छन्।
'मातृमृत्युदरमा सुधार, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा उनीहरुको आर्थिक सशक्तीकरण भइरहेको तथ्याङ्कले देखाएका छन्। पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षण देखिन थालेका छन्। राज्यका विभिन्न अङ्गमा महिलाको सहभागिता बढ्दै गएको छ', प्रधानमन्त्रीको सन्देशमा भनिएकाे छ।
यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। उनले आज एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन्।
'हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो। कांग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ। महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु', विज्ञप्तिमा भनिएकाे छ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गरेका छन्। उनले आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सम्वर्द्धनका लागि पनि महिला दिदीबहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गर्दै दिवसको शुभकामना व्यक्त गरेका छन्।
सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो औँल्याएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताए।
महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी/समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ भन्दै उनले यही विषयलाई सम्बोधन गर्ने गरी यस वर्ष सरकारले ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने मूल उद्देश्यका साथ श्रमिक महिला दिवस मनाउन लागेको सन्देशमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।