काठमाडाैं- आफ्ना सन्तानलाई नागरिकता दिनु बुवाआमाको कर्तव्य रहने व्यवस्था हुने भएको छ। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले यस्तो व्यवस्था राख्ने सहमति गरेको हो।
बुधबार भएको छलफलकाे निष्कर्षमा भनिएकाे छ, ‘छोरा–छोरीलाई नागरिकता दिनु बुवाआमाको कर्तव्य हुनेछ।’
कतिपय अवस्थामा बाबुआमाले सन्तानलाई नागरिकता दिन आनाकानी गरेको पाइएकाले यस्तो व्यवस्था जरुरी रहेको समितिका एक सदस्य झपट रावलले बताए। उनले भने, 'सन्तानलाई नागरिता दिलाउनु आमाबुवाको दायित्व हुनेछ। दिन आनाकानी गरे कानूनी कारबाहीको भागीदार हुनेछन्। हामीले यसमा सहमति जुटाएका छौं।'
त्यस्तै नागरिकता माग्न कुनै नागरिक सम्वन्धित अधिकारीसमक्ष पुगेको अवस्थामा इन्कार गर्न नपाउने व्यवस्थासमेत राखिने भएको छ। पछिल्लो समय आमाको नाममा नागरिकता दिन सर्वोच्च अदालतले फैसला गरेपनि जिल्ला प्रशासन कार्यालयले उपलव्ध नगराएको भन्दै विवाद भएको सन्दर्भमा समितिले यस्तो व्यवस्था ऐनमा राख्न प्रस्ताव गरेको हो।
सबै नागरिककले अनिवार्य रुपमा सहजताका साथ नागरिकता लिन सकुन् भनि यस्तो व्यवस्था गरिएको समितिकाी सभापति शशि श्रेष्ठले बताइन्।
विधेयकले निश्चित अवधिमा सन्तानलाई नागरिकता दिनुपर्ने व्यवस्थासमेत राख्ने सहमति गरेको छ। ‘कुनै नागरिकले नागरिकता माग गर्दा तोकिएको स्थानीय अधिकारीसमक्ष गएमा त्यसका लागि इन्कार गर्न नपाउने र प्रक्रिया नपुगेको भए सुरु गरिदिनु पर्नेछ’, भन्ने वाक्य राख्ने सहमति समितिमा भएको सभापति श्रेष्ठले जानकारी दिइन्।
नागरिकता विधेयकका केही समयदेखि राज्य व्यवस्था समितिमा लगातार छलफल चलिरहेको छ।
त्यस्तै, अघिल्लो बैठकमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य रुपमा खुलाउन नपर्ने व्यवस्थामा समेत सांसदहरु सहमतिमा पुगेका छन्। तर, बाबुकाे पहिचान हुन नसकेको ब्यहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएकाे छ।
समितिको निर्णय संघीय संसदको दुवै सदनबाट पारित भएमा नागरिकता बनाउन जाँदा महिलाले बाबु पहिचान हुन नसकेको मात्र ब्यहोरा जानकारी गराए हुनेछ।
लामो समयदेखि आमाको नाममा नागरिकता लिन बाबु पहिचान हुनुपर्ने वा नपर्ने विवाद हुँदै आएको थियो। गृह मन्त्रालयले पेस गरेको विधेयकको मस्यौदामा आमाको नागरिकता बनाउन बाबुको पहिचान खुल्नुपर्ने व्यवस्था गरेको थियो।
उक्त व्यवस्था विभेदकारी भएको भन्दै सांसदहरूले संशोधन हालेका थिए। संशोधनको छलफलका क्रममा मंगलबार संसदको राज्य व्यवस्था समितिबाट नागरिकता लिन सहज हुने व्यवस्था पारित भएको समितिकी सभापति श्रेष्ठले बताइन्।
महिलाहरूको नाममा नागरिकता लिन र बाबुको पहिचान नभएका महिलाले पनि सहजसँग नागरिकता लिनसक्ने गरी ब्यहोरामात्र खुलाउने सहज व्यवस्था राखेर समितिले पारित गरेको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।