काठमाडाैं- संघीय संरचनाअनुसारकाे प्रशासनिक नक्सा सार्वजनिक गरिएकाे छ।
नयाँ प्रशासनिक नक्सा एक सेन्टिमिटरकाे १० किलाेमिटर र एक मिलिमिटरकाे एक किलाेमिटर हुनेगरि बनाइएकाे छ। नक्सामा प्रदेश, जिल्ला र मुख्य राजमार्गहरुलाई चित्रित गरिएकाे छ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्सा सार्वजनिक गरेकी हुन्।
नापी विभागका उप महानिर्देशक प्रकाश जाेशीकाे नेतृत्वमा नक्सा निर्माण तयार गर्न समिति गठन गरेकाे थियाे। समितिले नक्सा तयार गरी आज सरकारलाई बुझाएकाे छ। समितिले प्रदेश र जिल्लास्तरीय नक्सासमेत तयार पारी आज एक कार्यक्रमका बीच भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेकी हुन्।
समितिले तयार गरेकाे नक्सा बुझ्दै मन्त्री अर्यालले प्रदेशकाे नामसहितकाे नक्सा सार्वजनिक गर्न चाहेकाेमा साे पुरा गर्न नसकेकाे बताइन्। 'हामीले पुरानाे नक्सा प्रयाेग गर्दै आएका थियौं। यस विषयमा पटक-पटक कुरा पनि उठेकाे थियाे', उनले भनिन्, 'प्रदेशकाे नामसहित नामाकरण गरिएकाे नक्सा सार्वजनिक गर्ने हाम्राे पनि चाहना हाे तर गर्न सकिएन।'
हाल तयार पारिएकाे नक्सामा ३ वटा प्रदेशकाे मात्र तथ्यांक रहेकाे उनले जानकारी दिइन्। अन्य प्रदेशकाे हकमा भने अंक र संकेत चिन्ह प्रयाेग गरिएका छन्।
मन्त्रालयले सबै पालिका र कार्यालयमा नक्सा पुर्याउने अभियान चाल्ने बताएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।