काठमाडौं– ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएका १९ थान निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
उक्त मुद्दा न्यायाधीशद्धय दिपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलाशमा पेसी रहेको छ।
१७ आरोपितहरु जिल्ला अदालत मोरङ, उच्च अदातल विराटनगरले आफ्नो पक्षमा आदेश नगरेपछि पुनरावेदनको निवेदन लिएर सर्वोच्च आएका हुन्। दुई प्रतिवादिको हकमा सरकार आफैंले पुनरावेदन निवेदन दायर गरेको छ। सबै निवेदनहरु एकै इजलाशमा राखेर सुनुवाइ हुन लागेको हो।
पाँच पटकसम्म पक्षले सार्दै आए पेसी
उच्च अदातल विराटनगर र जिल्ला अदातलले गरेको आदेश त्रुटीपूर्ण भएको भन्दै १७ नम्वर निवेदनअनुसार सर्वोच्च आएका उनीहरुले लामो समयदेखि सुनुवाइ हुन नदिई मुद्दाको पेसी आफैं सार्दै आएका छन्।
आफू अनुकूल इजलास नपरेको निष्कर्षसहित पक्षका कानुन व्यवसायीहरुले यसअघि पाँच पटकसम्म मुद्दाको पेसी हटाई सकेका छन्।
२०७५ कात्तिक १५ देखि दर्ता भएका निवेदनउपर हालसम्म २२ जना न्यायाधीशको इजलास ताेकिएकाे छ। सर्वोच्चले त्यसमा पहिलो सुनुवाई गर्दै फाइल मगाउने आदेश मात्र गरेको छ।
अन्तिम पटक फागुन १७ गते रहेको पेसी पक्षका कानुन व्यवसायीले निवेदन दिएर हटाएका थिए। धेरै कानुन व्यवसायी भएको फाइदा उठाउँदै उनीहरुले एकपछि अर्को कानुन व्यवासीमार्फत मुद्दाको पेसी हटाउँदै आएका थिए। न्यायाधीश दीपकुमार कार्की र मिरा खड्काको इजलासमा उक्त दिन पेसी रहेको थियो। तर, पक्षका कानुन व्यवसायीले हटाउने निवेदन दिँदै उक्त मुद्दाको सुनुवाइ आजका लागि सारेका थिए।
यसअघि विभिन्न इजलासमा छरिएर रहेका मुद्दालाई एकै ठाउँमा राख्दै सुनुवाइको लागि पेसी तोकिएको थियो।
३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका आरोपितहरुको मुद्दा सर्वोच्चमा केही समयदेखि सर्दै आएको हाे।
जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको आदेशविरुद्ध उनीहरुले दायर गरेको निवेदनमा पहिलो सुनुवाइ भए पनि उनीहरु धरौटीमा रिहा हुने वा नहुने विषयमा बहस हुन सकेको छैन।
मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका हुन्।
आरोपितहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सन्जेलको मुद्दा शुक्रबार पेसीमा छ।
मोरङ जिल्ला अदालतको आदेशविरुद्ध १२ आरोपितले पहिलाे चरणमा र बाँकी ५ जनाले दाेस्राे चरणमा सर्वोच्चमा निवेदन दिएका थिए।
दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश गर्न आरोपितहरुले अघिल्ला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए।
उनको अवकाशसँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेसी तोकिएको छ। चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेसी तोकिँदै आएको थियो।
करीब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।
उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।