काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्या अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा दर्ता भएका प्रहरी अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ।
निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै दुई वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका दुई वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो।
सोही घटनाको बहसका लागि कञ्चनपुर अदालत बोलाएपछि ५ जना प्रहरीलाई अदालतमा उपस्थित गराइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी बाहेकका ६ जना प्रहरी बुधरबार अदालतमा उपस्थित भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
उनीहरुलाई पनि अदालतले बोलाएको भए पनि उपस्थित नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उपस्थित नभएको कारण भने आफूहरुलाई थाहा नभएको कञ्चनपुर प्रहरीले जनायो।
अदालतमा उपस्थित हुनेमा डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।
अदालतकाे बहस नसकिएसम्म उनीहरु कञ्चनपुर प्रहरीकै निगरानीमा हुने कञ्चनपुर प्रहरीले जनाएको छ। अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा छन्।
उक्त घटनामा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट हटाएको थियो। अन्य प्रहरी भने निलम्बनमा परेका छन्।
त्यसपछि उनीहरुले मन्त्रिपरिषद्मा पुनर्वाहलीको माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदन उपर अहिलेसम्म कुनै कामकारबाही भएको छैन।
गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्त भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनलाई बलात्कारपछि हत्या गरिएको बताइए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।