काठमाडौं- गण्डकी मेडिकल कलेजका लक्ष्मण शर्मा र सन्तोष खनाल पक्राउ परेका छन्। लगानीकर्तासमेत रहेका खनाल कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् भने शर्मा परीक्षा नियन्त्रक हुन्। उनीहरु दुबैलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार साँझ पाेखराबाटै पक्राउ गरेकाे हाे।
सरकारले तोकेको शुल्कसीमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि अदालतको अनुमति लिएर पक्राउ गरिएको कास्कीका प्रहरी निरीक्षक गणेश पराजुलीले बताए।
यसअघि कलेजका ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलविरुद्ध मंगलबार सम्पत्ति शुद्धिकरण र ठगी मुद्दामा उजुरी दर्ता गरेपछि बुधबार पक्राउ पुर्जी जारी गरिएकाे हाे।
विद्यार्थीले बुधबार थप १० जनाविरुद्ध पनि उजुरी दिएका छन्। प्रहरीले उनीहरुका विषयमा पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ।
विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका थिए।
विद्यार्थीले मंगलबार सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।
विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरी हाल्नेमा प्रितम सुवेदी, विजयवावु शिवाकोटी र अनित सिन्हा छन्।
कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।
विद्यार्थीहरुले अवैध रुपमा उठाएको शुल्कको छानबिन गर्नुपर्ने लगायतका माग राख्दै अभियान्ताको सहयोगमा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको बताएका छन्।
तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए। सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।