धनगढी- टीकापुर घटनाको आरोपमा पक्राउ परेका ११ जना बुधबार छुटेका छन्।
कैलाली जिल्ला अदालतले रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद र लक्ष्मण थारुसहित १२ जनालाई तीन वर्ष कैद ठहर गरेको थियो। अदालतको आदेश अनुसार अदालतबाट बुधबार ११ जना छुटेका हुन्। कैलाली कारागारका अनुसार तीन वर्ष कैद सजाय तोकिएका चुन्नीराम चौधरी भने थप आठ दिन कैलाली कारागारमा रहनेछन्।
चुन्नी ढिलो गरी पक्राउ परेकाले उनी आउँदो फागुन ३० मा छुट्ने जनाइएको छ।
कारागारबाट बाहिर आउँदा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरीको अनुहारमा खुसीसँगै निराशा पनि थियो। उनले भने, ‘सरकारले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउनुपर्थ्यो तर भएन।’ उनले राज्यले बेवास्ता गरेका कारण अदालतले कानुनी फैसला गरेको बताए।
‘फैसला सर्वमान्य र स्वागतयोग्य छ,’ उनले भने, ‘कानुनमा व्यवस्था भएअनुरुप वादी-प्रतिवादीहरुले चित्त नबुझेका कुरामा पुनरावेदनमा जाने सोच बनाएका छौं।’
थारु नेता रामप्रसाद चौधरी पनि कारागारको गेटमा आफना झोला र सरसामानसहित मन्ध मुस्कानमा उभिएका थिए। उनका आफन्तले सरसमान गाडीमा राखिरहेका थिए। सोही क्रममा उनले भने, ‘तीन वर्ष ७ महिनापछि यो मुद्दा सम्मानित अदालतबाट किनारा लागेको छ। यसमा म धन्यवाद दिन चाहन्छु।’

उनले अदालतको फैसला सबैले मान्नुपर्ने बताए। ‘म छुटेर सन्तुष्ट र खुसीचाहिँ छैन,’ उनले भने, ‘किनभने एउटै मुद्दामा केही साथी छुट्ने र केही कैद बस्नुपर्नेप्रति दुःखी छु।’ उनले यस्ता घटना देशमा धेरै भएको र सबै ठाउँमा राजनीतिक बनाएर टुङ्गो लगाएको भए पनि यसमा त्यसो नहुनु दुःखद भएको बताए।
उनले केही व्यक्तिहरु कैदमा भएकाले निकास निकाल्न पुनरावेदन जाने प्रतिक्रिया दिए।
यस्तै आजै रिहा हुनेहरुमा लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जितबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी र रामप्रसाद चौधरी छन्।
प्रतिनिधिसभाका सांसद तर पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीसहित ११ जनालाई मुख्य दोषी ठहर गरी अदालतले आज जन्मकैदको फैसला गरेको थियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले उक्त फैसला गरेको हो। तहाँवर अलि जाँगा, विसराम चौधरी कुस्मी र रामनरेश चौधरीले भने सफाइ पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।