काठमाडौं– गत पुस १९ गते रेशम चौधरीले सांसद पदको सपथ लिएका थिए। जेलबाटै आएर सपथ लिई पुनः जेलमा नै फकाईएका चौधरीले सो क्रममा आफूहरु न्याय पाउने आशामा रहेको बताएका थिए।
दोषी उम्किनुपर्छ भन्ने मान्यतामा आफू नरहेको जिकिर गर्दै उनले राजनीतिक घटनाको निराकरण राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिएका थिए।
सपथ लिएपछि के भनेका थिए त रेशम चौधरीले :
न्यायालयले हामीलाई न्याय दिनेछ र न्याय दिनुपर्दछ। र अझै पनि म भन्दछु, कि स्पष्ट छानबिन, गहन छानबिन हुनुपर्दछ। दोषीले सजायको भागिदार हुनैपर्दछ। दोषी उम्किनुपर्छ मैले कहिले भने र हामीले कहिले भन्यौ? दोषी उम्किनै हुँदैन।
आज रेशम चौधरीमाथि डाँकाचोरी मुद्दा लगाइएको छ। नेपालको इतिहासमा म सबैभन्दा सानो उमेरमा गोरखा दक्षिण बाहु प्राप्त गरेके व्यक्ति हुँ। र बहुमुखी पुरस्कार प्राप्त गरेको व्यक्ति हुँ। मैले मेरो जीवनमा कहाँनेर कतिखेर चोरी र डकैतिको काम गरें त?
मलाई के लाग्छ भने राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपमै हुनुपर्दछ। टिकापुर नेपालकै एउटा अभिन्न अंग हो। नेपाल कै एक स्थान हो। त्यसलाई बनाउने जिम्मा हाम्रै हो। अहिले प्रदेशको सिमांकन भइसकेको छ। अहिले हामी प्रदेशको सिमांकनभित्र छौं। ततँ र मम गर्ने अवस्था अहिले छैन।
टिकापुर घटनाबारे आज सबै मिडियाका साथीहरुलाई म के भन्छु भने यो सजिल्यै सामाजिक सञ्जालमा जिकउने घटना होइन। यो विषयलाई यति सजिलै रुपमा नलिनुस्। यो एउटा वर्गाीय, जातीय हिसाबले ठेस पुगेको घटना हो। अझै पनि हाम्रा धेरै साथीहरु निर्वासित जीवन बिताइरहेका छन्। दर्जनौं साथीहरु जेलमा हुनुहुन्छ। अर्को वर्ग गाउँमा जान डराउँछ। आज टिकापुरका सयौं विघा जग्गा बाँझै छ।
तर, यसका निमित्त राज्य बोल्नु पर्छ कि पर्दैन? हामी न्यायालयबाट न्याय चाहन्छौं। हामी भिख चाहन्नौं। रेशम चौधरी भिख चाहन्न। हामीलाई न्याय दिनुस्। न्यायको आँखाले हेर्दिनुस्। आज साढे ३ वर्ष भो हामी पूर्पक्षका लागि जेलमा छौं। हाम्रै कानुनले भन्छ कि एक वर्षभन्दा बढी समय पुर्पक्षका लागि थुनामा राख्न पाइँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।