मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । त्यसकारण हृदयाघात पनि जिवनशैली र खानपानका कारण हुने रोग हो । बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, महत्वाकांक्षा, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूमपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन । तीमध्ये धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सवैभन्दा ठुलो कारकका रुपमा लिइन्छ ।
चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग
चिकित्सकका अनुसार चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदै गैरहेको छ । चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पु¥याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुने मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिल बताउँछन् ।
उच्च रक्तचाप
उच्च रक्तचाप पनि हृदयाघातको अर्को कारण हो । समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले हृदयाघातको सामना गर्नु परिरहेको चिकित्सकहरूको भनाई छ । उच्च रक्तचापले दबाब बढाउँदा रक्तनलीमा विभिन्न थेग्रोहरू जम्न मद्दत पु¥याउछ र त्यो प्रक्रिया बढ्दै जादा रगतको प्रवाह बन्द हुने डा. रेग्मी बताउँछन् ।
मधुमेह
हृदयाघातको अर्को कारण मधुमेह पनि हो । शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो । मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ । नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ ।
मुटुरोग विशेषज्ञ डा. रेग्मीले कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण रहेको जानकारी दिए । उनका अनुसार तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न गराउँछन् र ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ । जसका कारण रक्तनलीमा थेग्रो जम्न जान्छ ।
तनाव
तनावले पनि रक्तचाप र मुटुको चाल बढाउँछ । जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ ।

व्यायामको कमी
हृदयाघातको अर्को कारण व्यायामको कमी पनि हो । शारीरिक श्रम तथा व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा हृदयाघातको अवस्था तयार हुन्छ । दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलापको कमीले मानीसलाई मोटो बनाउँछ । मोटोपन भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो । त्यस्ता बोसो शरीरका सबै भागमा जम्मा हुन्छ । जस्का कारण नसामा समेत बोसो जम्मा भएर रक्तप्रवाहमा अवरोध सृजना गर्दछ र हृदयाघात हुने गर्दछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।