ताप्लेजुङ- फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको जंगलमा डाइनाष्टि एयरको हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ। दुर्घटनाको उद्धार सकिएपछि सो पेस्तोलको खोजीमा सुरक्षाकर्मी लागिपरेका थिए। मंगलबार दिउँसो सो पेस्तोल फेला परेको हो।
अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो।
दुर्घटनामा जमदार घिमिरे सहित र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो। घिमिरे मन्त्री अधिकारीको पिएसओका रुपमा सँगै गएका थिए।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।