जनकपुर– मिथिलाञ्चलका सांस्कृतिक उत्सव तथा संसार कै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि सुरु भएको छ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ।
मिथिला नगरमा वर्षमा ३ वटा परिक्रमा हुने गर्दछन्। यी परिक्रमा कार्तिक, फाल्गुन र बैसाखमा हुने गर्दछन्। ती मध्ये फाल्गुनमा हुने परिक्रमाको विशेष महत्व भएको पाइन्छ।
१ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थी आश्रमका श्रद्धालुहरूको सहभागिता रहने गरेको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको किंवदन्ती छ।
फागुन कृष्णपक्षको औंसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको पाइन्छ। बुधबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी श्रद्धालुहरू बिहीबार बिहान पुजापाठ गरी भारतको बिहार राज्यस्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन्।
परिक्रमामा सहभागिहरु क्रमशः फुलहरको गिर्जास्थान हुँदै महात्तरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पुर्णिमाको जनकपुर फर्कने छन्। जनकपुर– मिथिला बिहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौं संख्यामा सहभागिता रहने लक्ष्मी नारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैस्णवले बताए।
यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको उनको गुनासो छ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागिहरूको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको छ। परिक्रमाबासीहरू राती गाउँ भन्दा टाढा खुला चौर,बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन्।
स्थानीयले पनि सहभागिका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि पराल समेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरू दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताउछन्।
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन्।

मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ।
मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवम् भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ।
परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ।
परिक्रमामा सहभागी हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित इन्द्रकान्त झाले बताए।
प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।
मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दुरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ।
मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ। भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ।

तर, यो परिक्रमा अचेल साधुसन्तको सीमित संख्याले मात्र गर्ने गरेको कुरा जानकी मन्दिर जनकपुरका महन्थ तपेश्वर दासले बताए। बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिना मै हुने परम्परा रहेको महन्थ दासले बताए।
केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुर स्थित रत्नसागर स्थानका स्वः महन्त बाबा नारायण दासजीले करिब डेढसय वर्षपूर्व समयदेखि दुईसय सम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार प्रारम्भ गरेको बताइन्छ।
त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु सहित बाजागाजा सहित परिक्रमा गरेका थिए।
पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पुर्याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको वैष्णवले बताए।
माध्यमिकी परिक्रमामा करिब साठी वर्ष अघिदेखि मिथिला महात्मयको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकीकरण गरे। उनको निधनपछि मिथिला महात्मयको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरि रहेका छन्।
यस्तो छ परिक्रमा पथ
पहिलो दिन– फागुन औंसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो। जनकपुरधामबाट २ किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्ति भएको १ सय ६० वर्षअघि स्थापित मन्दिर छ।
दोस्रो दिन– दोश्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ। भव्य कुण्ड तथा विश्रामालय समेत रहेको कलाणेश्वर (कलना) निकै आकर्षक एवम् मनमोहक छ। भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा १ सय १० वर्ष बसेको ठाउँ पनि यही हो।
तेश्रो दिन– तेश्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारत मै पर्छ। स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ।
गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्ति एवम् कप्टहारिणी र शरसमीर पोखरीहरू भएको यो ठाउँबाट जमुनी नदी बगेको छ।

चौथो दिन– यस दिन परिक्रमाका यात्री नेपालको मटिहानी आइपुग्छन्। महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा ८ वटा पोखरी भएको घना बस्ती हो। नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठहरू छन्।
पाँचौं दिन– मिथिला परिक्रमाका यात्रीहरू यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन्। जलेश्वरनाथको मन्दिरको शिवलिंग सधैंभरि जलमै डुबेको हुन्छ।
छैटौं दिन– यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन्। यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन्।
सातौं दिन– सातौं दिनको विश्रामस्थल धू्रव कुण्ड हो। यहाँ धू्रवजीको मन्दिर छ।
आठौं दिन– यात्रीहरूको आठौं दिनको गन्तब्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ। यहाँ सीतारामको मन्दिर छ।
नवौं दिन– यस दिनको विश्रामस्थल पर्वता हो। यहाँ हनुमानजीको विहाल मन्दिर छ। पर्वता पुग्नुपूर्व भक्तजनहरुले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन्।
दसौं दिन– यस दिन यात्रीहरू धनुषाधाम आइपुग्छन्। सीताजीसँग स्वयंवर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ। यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ।
विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगंगा नदी एवम् उत्तरपट्टी करिब ५ सय विगाहमा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ। यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ।
एघारौं दिन– यात्रीहरूको एघारौं दिनको गन्तव्य सतोषर हो। राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ।
बाह्रौं दिन– यात्रीहरूको बाह्रौं दिनको गन्तब्य औरही हो। जनकपुर जयनगर रेल्वेको तेश्रो बिसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरू कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन्।
तेह्रौं दिन– भारतको विशौल परिक्रमा यात्रीहरूको तेह्रौं दिनको गन्तव्य हो।
चौधौं दिन– चौधौं दिन परिक्रमा यात्रीहरू करुणा भन्ने स्थानमा आइपुग्छन्। यो कलाणेश्वर नजिकै छ।
पन्ध्रौं दिन– यस दिन परिक्रमाका यात्रीहरू जनकपुर आइपुग्छन्। यो यात्राका अन्तिम दिन हो। फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमापछि श्रद्धालुहरू जानकी मन्दिर लगायत अन्य मठ मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन्।
यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ। परिक्रमा यात्रीहरूका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ।
माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भू–भाग नेपालमा पर्ने गर्छ। परिक्रमामा सहभागी हजारौं यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौं श्रद्धालु भक्तजनको भिडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी लगायत गैरसरकारी क्षेत्रका संस्था प्रयासरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।