धनगढी- गृहमन्त्री रामबहादुर थापा (बादल) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा सरकार गम्भीर रहेको बताएका छन्।
‘बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ,’ बुधबार धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री थापाले भने, ‘सुरुमा सुरक्षा निकायको लापरबाही भएका कारण अहिले अनुसन्धानमा जटिलता पैदा भएको हो। यो प्रकरणले पनि समय लिएको छ। सरकारले छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा ल्याउनेछ।’
केही समूहले विस्फोटन र ध्वंसात्मक गतिविधि चलाएको भन्दै उनले सरकारले यसलाई गम्भीर रुपमा लिएको बताए।
गृहमन्त्री थापाले सिन्डिकेट अन्त्य भइसकेको पनि दाबी गरे। ‘सिन्डिकेट कानुनी रुपमा अन्त्य भइसकेको छ। यो फर्किने भन्ने कुरा आएन,’ उनले भने, ‘यसलाई व्यवस्थित र व्यवस्थापन गर्ने सम्बन्धमा केही कानुन अलिकति बाँझिदा समस्या भएको छ।’
संघीयतालाई कार्यान्वय गर्नका निम्ति संरचना खडा गर्ने आधारभूत काम पूरा भएको भन्दै उनले सदनमा चलिरहेको अधिवेशनले कानुन निर्माण गरेपछि त्यो प्रक्रिया पनि पूरा हुने बताए।
सरकारले एक वर्षमा शान्ति सुरक्षा र सुशासनका निम्ति महत्वपूर्ण काम गरेको गृहमन्त्री थापाको दाबी छ।
एक फरक प्रसंगमा पार्टी एकीकरणका निम्ति केही काम बाँकी रहेको उनले बताए।
सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न गृहमन्त्री थापा बुधबार धनगढी आइपुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।