दाङ– रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्ने गाडीमा गए राति अज्ञात समूहले आगजनी गरेको छ।
गाँउपालिकाको ४ नं. वडा कार्यालयमा पार्किङ गरिराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए। मंगलबारदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी अध्यक्ष खत्री त्यही बास बसेका थिए।
उक्त गाडी गाँउपालिकाले भाडामा लिएर प्रयोग गरिरहेको थियो। यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयमा गएराति सामान्य तोडफोड भएको छ।
अज्ञात समूहले ढुंगा प्रहार गर्दा गाउँपालिका कार्यालयको झ्यालका सिसा फुटेको बताइएको छ।
एक दिनअघि मात्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गरी मुद्दा चलाइएकाले त्यसैको विरोधस्वरुप आगजनी र तोडफोड भएको हुन सक्ने अनुमान स्थानीयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।