काठमाडौं– वादी समुदायको कथामा आधारित दुई उपन्यास ‘नथिया’, ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरी’माथि मुद्दा परेकोमा सर्वोच्च अदालतले संशोधन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।
सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र थमनकुमार भण्डारीद्वारा निर्मित फिल्म ‘पण्डित बाजेको लौरो’माथि असोज ४ गते वादी समुदायका अगुवा मीना नेपाली (वादी) लगायतले मुद्दा दायर गरेका थिए।
सोही मुद्दामा फाुगन १५ गते सर्वोच्च अदालतले फैसला गर्दै नेपाल सरकारसहित विभिन्न चार निकायलाई ती कृति संशोधन गरेर मात्र बजारमा ल्याउन भनेको छ। कृतिहरू संशोधन गर्ने बारेमा विस्तृत फैसला प्राप्त भएपछि मात्र एकिन हुनेछ।
सर्वोच्चको उक्त फैसाल सार्वजनिक भएको सन्दर्भमा वादी समुदायका अधिकारकर्मीले मंगलबार पत्रकार सम्मेलन गरेर त्यसबारे आफ्नो धारणा सर्वाजनिक गरेका छन्।
राष्ट्रिय वादी परिषद्ले राजधानीमा गरेको पत्रकार सम्मेलनमा वादी समुयका व्यथालाई कथा बनाए लेखिएका उपन्यास र फिल्मले कसरी वादी समुदायको आत्म सम्मानमा चोट पुर्यायो भन्ने कुरा राखे।
यस्तो छ, परिषद्का अध्यक्ष केशव नेपाली (वादी)ले राखेको धारणा:
वादी समुदाय आफैंमा कला, सीपले धनी समुदाय हो। विगतमा हेर्दा वादी समुदायको इतिहास गौरवपूर्ण इतिहास थियो।
तत्कालीन राजा–रजौटाका कारण केही अविवाहित महिलाहरू यौन शोषणमा पर्नगइ समग्र वादी समुदायलाई नेपालको समाजले कलंकको टिका लगाउने काम भयो। र, त्यसपछि यो समुदायलाई समाजमा एउटा यौन पेसा गर्ने समुदायका रुपमा परिभाषित गरियो।
जुन यो समुदायका लागि दुर्भाग्यपूर्ण कुरा थियो। विगतमा थुप्रै क्षेत्रबाट यो समुदायलाई शोषण, दमण गर्ने कुरा भए।
केही वर्षदेखि आएर प्राज्ञिक क्षेत्रबाट पनि अप्रत्यक्ष रुपमा यो समुदायलाई अझै लान्छाना गरेका कुराहरू विभिन्न किसिममा पत्रपत्रिकामा पढ्न पाइन्छ। यसको हामीले विरोध गर्दै आएका छौं।
केही लेखकले वादी समुदायका बारेमा उपन्यास लेखेका छन्, फिल्म बनाएका छन्। त्यसबाट वादी समुदायको आत्म सम्मानमा चोट लागेको छ। केही महिलाको नामै उल्लेख भएको छ, यसले उहाँहरूको आत्म सम्मानमा ठेस लागेको छ।
‘नथिया’
सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ उपन्यासमा वादी समुदायकै इतिहासलाई नै बंग्याइएको छ।
‘नथिया’ भन्ने शब्द वादी समुदायको हुँदै होइन। यसलाई बंग्याउने काम भयो। हाम्रो ‘नथुनी’ खोल्ने चलन कुनै समय थियो।
त्यो भनेको नाक खोल्ने हो। तर, उहाँले उपन्यासमा अर्कै अर्थमा त्यसलाई प्रयोग गर्नु भएको छ। यो आपत्तिजनक छ।
उपन्यासमा श्रीमानले ग्राहक खोजिदिन्छन् भनिएको छ। कुनै पनि समयमा, कुनै पनि कालखण्डमा आफ्नो श्रीमतीलाई यौन पेसा गराएर आफ्नो जिवीका चलाएको वादी समुदायमा कुनै इतिहास पाइँदैन।
त्यस्तै त्यहाँ पातर, वदेनी, भाड, वेश्या जस्ता धेरै शब्द प्रयोग भएको छ। नेपाल सरकारले २०६८ समालमा यौन शोषणरहित समुदाय घोषणा गरेको अवस्थामा यस्ता शब्द प्रयोग गर्नु हुँदैन, जुन प्रयोग भए कानुनी कारबाही हुन्छ।
त्यहाँ प्रयोग भएको भाषाको लवज पनि गलत छ। दाङको भाषा भनिएको छ। तर, सुदूर पश्चिमको भाषाको लवज त्यहाँ प्रयोग भएको छ।
एउटा वादी समुदायी २०/२५ वर्षकी महिलाको नाम उपन्यासमा लेखिएको छ। उसको बिहे भएको होला, घर व्यवहार होला। बुवाले बलात्कार गरेर ‘नथिया’ खोल्यो भनिएको छ।
उनको नाम उल्लेख गर्नु नै गलत छ। बाबुले पहिलो पटक यौन सम्पर्क गरेर ‘नथिया खोलिदियो’ भनेर भन्नु यो वादी समुदायको आत्म सम्मानमा चोट पुर्याउनु हो।
त्यस्तै जीवत पाँच जना महिलाहरूको नाम उल्लेख गरिएको छ। व्यक्तिगतरुमा उहाँहरुप्रति लाञ्छना भेदभाव, आत्म सम्मानमा ठेस लगाउने काम यो उपन्यासले गरेको छ।
ऐलानी
त्यसैगरी विवेक ओझाबाट लेखिएको ‘ऐलानी’मा वादी समुदायकी महिलालाई एउटा ऐलानी जग्गासँग तुलना गरिएको छ। ऐलानी जमिनमा जसले जे गरे पनि हुन्छ, जसले हडपे पनि हुन्छ।
अझ त्यसमा जसले गएर पिसाप फेरिदिए पनि हुन्छ भन्ने उल्लेख गरिएको छ। यसले गर्दा वादी समुदायको आत्म सम्मानमा चोट पुग्न गएको छ।
त्यहाँ प्रयोग भएका शब्दहरू वादी महिला पेसेवर यौनकर्मी हुन् भन्ने छन्।
पण्डित बाजेको लौरी
त्यसैगरी दीपक वलीद्वारा निर्देशन गरिएको, थमनकुमार भण्डारीद्वारा निर्माण गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’मा वादी समुदायको परिवारमा श्रीमतिले यौन पेसा गर्ने, श्रीमान्ले ग्राहक खोज्दै हिँड्ने देखाइएको छ। त्यसमा कुनै पनि सत्यता छैन।
र, त्यो फिल्ममा चलन हो, हिजोदेखि हुँदै आएको प्रथा हो भन्ने जस्ता शब्दहरू प्रयोग भएको छ। यसले वादी समुदायका लागि आत्मसम्मानमा ठेस लागेको छ। मानव अधिकार हनन् भएको छ।
आउँदा दिनमा यस्ता किसिमका पुस्तक, फिल्म नआउन्। जसले गर्दा भावी पुस्तालाई यसले नकरात्मक रुपमा प्रभाव नपारोस्।
सर्वोच्चले हामीले अशा गरे बमोजिम, वादी समुदायको सम्मान मिल्ने गरी निर्देशन दिने फैसला गरेको छ।
हाम्रो अभियान केवल सरस्वती प्रतीक्षा, विवेक ओझा वा थमनकुमार भण्डारीलाई हराउने र हामी विजयी हुने उदेश्यले चलाइएको होइन। हाम्रो जातीय सम्मान हरण भएको थियो त्यो कानुनी रुपमा संरक्षण हुनुपर्छ, न्याय दिनुपर्छ भनेर हामीले नेपाल सरकारसँग मागेका थियौं। शोषण, लान्छना, भेदभावका कुरा यो आदेशले रोक्नेछ भन्ने हामीले आशा गरेका छौं।
अब आउने लेखकलाई पनि हामी आग्रह गर्न चाहान्छौं—वादी समुदायको गरिमा, आत्मसम्मानलाई विचार गरेर आफ्ना कृति प्रकाशित गरिदिनुहोस्।
र, उनको भनाइ भिडियोमा पनि हेर्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।