काठमाडौं– आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य रुपमा खुलाउन नपर्ने भएको छ। तर, बाबु पहिचान हुन नसकेको ब्यहोरा भने उल्लेख गर्नुपर्ने छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले मंगलबार यस्तो सहमति गरेको हो। समितिको निर्णय संघीय संसदको दुवै सदनबाट पारित भएमा नागरिकता बनाउन जाँदा महिलाले बाबु पहिचान हुन नसकेको मात्र ब्यहाेरा जानकारी गराए हुनेछ।
लामो समयदेखि आमाको नाममा नागरिकता लिन बाबु पहिचान हुनुपर्ने वा नपर्ने विवाद हुँदै आएको थियो। गृह मन्त्रालयले पेस गरेको विधेयकको मस्यौदामा आमाको नागरिकता बनाउन बाबुको पहिचान खुल्नुपर्ने व्यवस्था गरेको थियो।
उक्त व्यवस्था विभेदकारी भएको भन्दै सांसदहरूले संशोधन हालेका थिए। संशोधनको छलफलका क्रममा मंगलबार संसदको राज्य व्यवस्था समितिले नागरिकता लिन सहज हुने व्यवस्था पारित भएको समितिकी सभापति शशि श्रेष्ठले बताइन्।
महिलाहरूको नाममा नागरिकता लिन र बाबुको पहिचान नभएका महिलाले पनि सहजसँग नागरिकता लिन सक्ने गरी ब्यहोरामात्र खुलाउने सहज व्यवस्था राखेर समितिले पारित गरेको सभापति श्रेष्ठले बताइन्।
केही समयदेखि समितिमा उक्त विधेयकमाथि छलफल भइरहेको छ। समितिले केही विषयमा सहमति गरेको र त्यसको प्रतिवेदन तयार भइरहेको सभापति श्रेष्ठले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।