भद्रपुर- झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट सहिदको सम्मान अझसम्म दिइएको छैन।
सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले सहिद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई सहिदको सूचीमा नाम समावेश गर्न छुटेको थियो।
तत्कालीन नेकपा एमाले झापाका अध्यक्ष एवं सहिद राम प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष चिन्तन पाठकले उनलाई सहिद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिएको र चाँडै प्रक्रिया पुर्याएर सहिद घोषणा गरिने आश्वासन पाएको बताए।
प्रधानलाई इलामको शान्तिपुरमा एक घरको कोठाभित्र आश्रय लिएर सुतेको अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइरोले घोचीघोची हत्या गरेका थिए। उनको सालिक झापाको बुद्धशान्ति गाउँपालिका-१ भोटेटारमा छ।
प्रधानलाई हत्या गरिएको सेल्टरबाट गिरफ्तार गरिएका अर्का योद्धा सानो दुर्गा अधिकारीलाई १७ वर्ष जेलमा राखिएको थियो। झापा विद्रोहका नेता मोहनचन्द्र अधिकारी सबैभन्दा बढी १८ वर्ष जेल बसेका थिए। नरेश खरेल, राधाकृष्ण मैनाली, सिपी मैनाली, भीष्म धिमाल, मङ्गलमणि सतार, अम्बर कार्की लगायत नेताले १६ वर्षभन्दा बढी जेल यातना भोगेका थिए।
२१ फागुन २०२९ मा झापा आन्दोलनका अगुवा पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई गोली ठोकेर हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।