जनकपुर- पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमास्थलको कामलाई बिना अवरोध अघि बढाउनुपर्ने बताएका छन्। कुनै बहानामा सो काममा ढिलाइ गर्न नहुने समेत उनले बताए।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समन्वय समिति बाराले आइतबार निजगढमा आयोजना गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा बोल्दै नेता नेपालले विमानस्थल निर्माणको काममा बाधा पुर्याउने गरी अब कसैले पनि बहाना बनाउन नहुने बताए।
नेकपाका नेता नेपालले भने, 'अब विमानस्थलको कामलाई रोक्ने किसिमका गतिविधि कसैले नगरौँ। यो आयोजना देशको समृद्धिसँग जोडिएको छ। तीनै तहका सरकार र नागरिकले गम्भीरताका साथ आयोजना सम्पन्न गर्न लाग्नुपर्छ।'
पछिल्लो समय विमानस्थलका विषयमा बाहिर आएका प्रचारबाट सचेत हुनुपर्ने भन्दै नेता नेपालले अहिलेसम्म भएका कामका प्रगतिले प्रस्ताव गरेकै स्थानमा विमानस्थल बन्नेमा दुईमत नरहेको बताए।
विमानस्थलको कामलाई चासोका साथ अघि बढाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी र विमानस्थलको कामलाई २०५२ सालमा प्रारम्भिक सर्वेक्षणका लागि बजेट विनियोजन गरेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको निधनबाट राज्यलाई ठूलो क्षति पुगेको भन्दै नेता नेपालले टांगियाबस्तीका बासिन्दा व्यवस्थापन गरेर छिटो भन्दा छिटो विमानस्थलको कामलाई अघि बढाईहाल्नु पर्ने बताए।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले विमानस्थल निर्माणका लागि प्रदेश सरकार पनि प्रतिबद्ध रहेको बताए। प्रदेशको गौरवको रुपमा रहेको विमास्थल निर्माणमा कसैले अवरोध गर्न नहुने भन्दै मन्त्री सोनलले मुलुकलाई सन्तुलित विकासतर्फ अघि बढाउन जरुरी रहेको बताए।
'आयोजना बनाउने मात्र नभई सबै क्षेत्रको विकास हुने गरी कामलाई अघि बढाउनुपर्छ,' मन्त्री सोनलले भने, 'राज्यले त्यसैअनुसार यस आयोजनालाई अघि बढाओस्, प्रदेश सकार आयोजना पूरा गराउन प्रतिबद्ध छ।'
मन्त्री सोननले प्रदेशको भूमिमा बन्न लागेको विमानस्थलको विषयमा केन्द्र सरकारले आधिकारिक रुपमा प्रदेश सरकारसँग समन्वय नगरेको बताए। भूमि र वन क्षेत्र प्रदेश सरकारको मातहतमा रहेकाले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न मन्त्री सोनलले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।