सेन्ट लुसिया– इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पाँच खेलको एकदिवसीय सिरिज २–२ को बराबरीमा सकिएको छ। पाँचौ तथा अन्तिम खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डमाथि ७ विकेटको जित निकालेपछि सिरिज बराबरीमा सकिएको हो।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड २८.१ ओभरमा १ सय १३ रनमै अलआउट भएको थियो। इंग्ल्यान्डका लागि जोस बटलरले सबैभन्दा बढी २३ रन जोडेका थिए। बलिङमा वेस्ट इन्डिजका ओसान थोमसले ५ विकेट लिएका थिए। उनले ५.१ ओभरमा २१ रन खर्चिए। कार्लोस बाथवेट र जासन होल्डरले २–२ विकेट हात पारे।
१ सय १४ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले १२.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। वेस्ट इन्डिजको जितमा क्रिस गेलले २७ बलमा ७७ रन जोडे। इंग्ल्यान्डका मार्क उडबाट बोल्ड हुनुअघि उनले ५ चौका र ९ छक्का प्रहार गरेका थिए। उनले १९ बलमै अर्धशतक पूरा गर्दै वेस्ट इन्डिजका लागि छिटो अर्धशतकको रेकर्ड बनाए।
यससँगै गेलले अर्को कीर्तिमान बनाएका छन्। एकै सिरिजमा सबैभन्दा बढी छक्का हान्ने विश्व रेकर्ड बनाउने क्रममा उनले ४ खेलमा ३९ छक्का हिर्काए।
उनले सिरिजमा खेलेका चार मध्ये २ खेलमा शतक र २ खेलमा अर्धशतक बनाए। उनले ४ खेल मध्ये पहिलो खेलमा १ सय ३५ रन र दोस्रो खेलमा ५० रन बनाएका थिए। तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। चौथो खेलमा १ सय ६२ रन बनाएका गेलले पाँचौ खेलमा ७७ रन जोडे। सिरिजमा जम्मा ४ सय २४ रन बनाएका उनको औसत १ सय ६ रन रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।