दमौली– तनहुँको भिमाद नगरपालिका–५ मा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। सात घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १ सय ७० महिला र १ सय ७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन्।
स्थानीयवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ विसं २०७४ मङ्सिर २९ गतेबाट निर्माण सुरु भएको आमडाँडा खानेपानी आयोजना रु ८४ लाख ४७ हजार २ सय ७१ को लागतमा सम्पन्न भएको हो।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण गरिएको परियोजना सल्लाहकार बासुदेव पाण्डेले जानकारी दिए।
खानेपानी आयोजनाका लागि नेपाल सरकारले रु ३० लाख २८ हजार २ सय ६२, फिनल्याण्ड सरकारले रु ३० लाख २८ हजार २ सय ६२ आर्थिक सहयोग गरेको छ। आयोजनाका लागि भिमाद नगरपालिकाले रु ८ लाख ४४ हजार ७ सय २७ र स्थानीय उपभोक्ताले रु ५ लाख ८३ हजार ४ सय ५३ लागत सहभागिता व्यहोरेका छन् भने ९ लाख ६२ हजार ५ सय ६७ बराबरको जनश्रमदान गरेका छन्।
खानेपानी आयोजनाबाट ५९ घरधुरीका ३ सय ४३ उपभोक्ता लाभान्वित भएको आमडाँडा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष विवेक रानाले बताए।
सोही वडाको भालुखोलाबाट पानी लिफ्टमार्फत् ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरसम्म वितरण गरिएको रानाले जानकारी दिए। एक घर एक धाराअन्तर्गत सबै उपभोक्ताको घरघरमा धारा जडान गरिएको हो।
खानेपानी योजना नहुँदा अस्थायी मूलबाट पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई रहेको थियो। दैनिक दुई/तीन घण्टा हिँडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।