पोखरा– आहा राराको १७औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। थ्रीस्टारले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ ले हराएर उपाधि जितेको हो।
शनिबार पोखरा रंगशाला भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। थप गरिएको ३० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा थ्रीस्टारले बाजी मार्यो।
पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रञ्जीत धिमाल, रुपेश केसी, विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङले गोल गरे। सुशील राईको प्रहार क्रसबारमा लागेर फर्कियो।
आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे। गोलकिपर विकेश कुथु र विकास खवासको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले विफल पारे।
त्यसअघि आर्मीले पाँचौ मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा थ्रीस्टारका रन्जीत धिमालले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि थप गरिएको सयमको १५ मिनेटमा बिमल पाण्डेले गोल गरेपछि आर्मीले दोस्रो पटक अग्रता लियो। थप समयको खेल सकिन ८ मिनेट बाँकी छदा थ्रीस्टारका पिटरले बराबरी गोल फर्काएका थिए।
योसँगै आर्मीको उपाधि जित्ने लक्ष्य यसपटक पनि सफल हुन सकेन। विसं २०६२ मा पहिलोपटक आहा रारामा सहभागी भएको आर्मी सातौँ, आठौँ र १४औँ संस्करणमा फाइनलसम्म पुगेको थियो। आर्मीको उपाधि चुम्ने लक्ष्यमा सातौँ र आठौँमा पुलिस तथा १४औँ मनाङ बाधक बनेको थियो। थ्रीस्टारले नवौँ, ११औँ र १३औँ संस्करणमा उपाधि उचाल्दा अघिल्लो संस्करणमा भने नेपाल पुलिस क्लबसँग पराजित हुन पुग्यो।
जारी सिजनमा आर्मी र थ्रीस्टारबीचको खेलमा दुवैले एक÷एक खेल जितेका थिए। सिमरा गोल्डकपमा आर्मीलाई सडन डेथमा पराजित गरी थ्रीस्टारले उपाधि उचाल्यो भने मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा टाइब्रेकरमा थ्रीस्टारलाई आर्मीले पराजित गर्यो। मोफसलमा इटहरीको मदन भण्डारी र विशाल मेमोरियल गोल्डकप आर्मीले जितेको थियो भने थ्रीस्टारले सिमरा गोल्डकप जितेको छ।
प्रतियोगिताको विजेता थ्रीस्टारले ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।