काठमाडौं– पर्यटन प्रवद्र्धनका लागि सुदूरपश्चिम साईकल यात्रा हुने भएको छ। युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीदेखि कञ्चनपुरसम्म दुई दिने साइकल यात्रा हुने भएको हो।
फागुन २४ गते धनगढीदेखि सुरु भएर फागुन २५ गते महेन्द्रनगर पुगेर साइकल यात्रा समापन हुने आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । साईकल यात्रामा देशभरका ४०जना साइकल यात्रीहरुको सहभागिता रहनेछ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा सहित गरिन लागेको साईकल यात्राका लागि साढे तीन लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ।
फागुन २३ गते धनगढीका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको भ्रमण गराइनेछ। त्यसपछि फागुन २४ गते धनगढी रंगशालादेखि साईकल यात्रा सुरु भएर विभिन्न स्थानमा स्वागत हुँदै पहिलो दिन मझगाउँ होमस्टेमा बास बस्नेछ। दोस्रो दिन कञ्चनपुरका पर्यटकीय क्षेत्रको साईकल मार्फत भ्रमण गराएर कार्यक्रम समापन गर्ने तालिका बनाईएको पत्रकार सम्मेलनमा टुर दी फारवेष्ट साईकल यात्राका संयोजक टेकराज पनेरुले जानकारी दिए।यात्रामा विश्व भ्रमण गरिसकेका साईकल यात्री पुष्कर शाहको पनि सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।