राजविराज– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना उच्चपदस्थ व्यक्तिको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएको घटनाले सप्तरीबासीलाई पनि स्तब्ध बनाएको छ।
मन्त्री अधिकारीले जिल्लामा पुर्याएको योगदान निकै महत्वपूर्ण भएको सप्तरीबासीको भनाइ छ।
५८ वर्षदेखि विमान सेवा अवरुद्ध रहेको राजविराज विमानस्थल उनकै प्रयासले पुनः सुचारु भएको छ। श्री एयरलाइन्सको विमान राजविराज विमानस्थलवाट निरन्तर सञ्चालनमा छ।
कच्ची धावन मार्गका कारण पटक–पटक सञ्चालन र बन्द हुँदै आएको राजविराज विमानस्थल स्तरोन्नतिपछि जेठ १ गते मन्त्री अधिकारी स्वयम् उपस्थित भएर हवाइ सेवाको उद्घाटन गरेका थिए।
तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गरेका थिए। कच्ची धावन मार्गकै कारण पछिल्लो पटक २०५२ बैसाखदेखि उडान रोकिएको थियो।
राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायाण सिंहले ५५ विगाहा जग्गा उपलब्ध गराएका थिए।
मन्त्री अधिकारीकै प्रयासले विमानस्थलले नयाँ जीवन पाएको र सप्तरीबासीले हवाइ सुविधा पाएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान बताउँछन्।
‘हामीले १०/१२ वर्षदेखि नै विमानस्थल सञ्चालनको प्रयास गरिरहेका थियौं, तर सफलता हात परेको थिएन,’ उनले भने, ‘उहाँ मन्त्री भएपछि हाम्रो गम्भीरतालाई मनन् गर्दै विमान सञ्चालनको व्यवस्था मिलाइदिनु भयो।’
मन्त्री अधिकारी मधेशप्रति बढी चिन्तित हुने गरेको उनको बुझाइ छ। ‘उहाँ मधेशलाई पनि माया गर्ने मान्छे हो। मधेश र मधेशीको विकासका लागि चिन्तित देखिनुहुन्थ्यो,’ उनले थपे, ‘सप्तरीलाई लिंक रोडका माध्यमले भारतको नेसनल हाइवेसँग जोड्नुपर्छ र विकासका आधार स्तम्भ तयार गर्नुपर्छ भन्नुहुन्थ्यो।’
राजविराज विमानस्थलवाट रात्रीकालीन सेवा सञ्चालन र नियमित उडानका लागि पनि प्रयास भइरहेका वेला उनको दुःखद निधनले सप्तरीसहित आसपासका सर्वसाधारणलाई अपुरणीय क्षति पुगेको प्रधानले बताए।
ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा भएको दुर्घटनामा मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।