काठमाडौं– द्वन्द्वपीडितहरूको संगठन द्वन्द्वपीडित साझा चौतारीमा फोटो आएको छ। संस्थाको नीति र हित विपरीत काम गरेको भन्दै चौतारीले तत्कालीन उपाध्यक्ष गोपाल शाह, देवी सुनुवार, सदस्यहरू कृष्ण अधिकारी र सावित्री श्रेष्ठलाई संस्थाको कुनै जिम्मेवारीमा नरहने गरी निष्काशन गरेको जनाएको छ।
चौतारीको फागुन १४, १५ र १६ गतेको विस्तारित बैठकले यस्तो निर्णय लिएको अध्यक्ष भागीराम चौधरी र महासचिव जनकबहादुर राउतले संयुक्त रुपमा बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आफूहरूका बारेमा भ्रमपूर्ण प्रचार र लाञ्छना लाउने काम गरेकाले निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘चौतारी एवम् पदाधिकारीहरूको बारेमा अवाञ्छित लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, उल्टो मुद्दा बेचे भनेर अनर्गल दुष्प्रचार गर्ने, भ्रम सृजना गर्ने, चौतारीको बैठक छ भनेर अभियानमा कटिबद्ध पीडित साथीहरूलाई झुक्याएर बोलाएर गुमराहमा राखेर एवम् कतिपयलाई जानकारी नै नदिई गुट बनाउनेजस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने प्रवृत्ति नसच्चिएका कारण २०७५ फागुन १४, १५ र १६ गतेको चौतारीको कार्यसमितिको विस्तारित बैठकले तत्कालीन उपाध्यक्ष गोपाल शाह, देवी सुनुवार, सदस्यहरु कृष्ण अधिकारी र साबित्री श्रेष्ठलाई चौतारीको कुनै जिम्मेवारीमा नरहने गरी निष्काशन गरिएको व्यहोरा आम सरोकारवालाहरुको जानकारीका लागि सुचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
बैठकले चौतारीको कार्यसमितिको पुनर्गठन तथा विस्तारका लागि संस्थापक अध्यक्ष सुमन अधिकारीको नेतृत्वमा ७ सदस्यीय विस्तारित केन्द्रीय सल्लाहकार समिति बनाएको छ।
त्यस्तै भोजराज तिमल्सिनाको संयोजकत्वमा उपत्यका विशेष समिति एवम् सिर्जना श्रेष्ठको संयोजकत्वमा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल समेत गठन गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।