काठमाडौं– होटल संघ नेपाल (हान)ले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत सातै जनाको सम्झनामा समवेदना प्रकट गरेको छ।
हानले यति एयरलाइन्स समूहका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, भ्रमण दलमा रहेका चार जना कर्मठ राष्ट्रसेवकहरू कर्मचारी र हेलिकोप्टर चालकको सम्झनामा शोक प्रकट गर्दै मृत आत्माको चिरशान्तिको लागि हार्दिक श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा अभियानका प्रवर्द्धक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हवाइ दुर्घटनाबाट भएको निधनले देशमा बारम्बार भइरहेको हवाइ दुर्घटनाको रोकथाम तथा न्यूनीकरणका लागि सम्वद्ध सबै पक्ष अत्यन्तै गम्भीर भएर नेपाली आकाशलाई सुरक्षित बनाउन आ–आफ्नो उत्तरदायित्व गहनरुपमा वहन गर्न समेत सुझाएको छ।
साथै हानले राष्ट्रिय शोक मनाउन नेपाल सरकारबाट घोषणा भएको सार्वजनिक बिदा सदस्य होटलहरुले पनि सञ्चालन नियमित राखी एक दिन बिदा थप्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।