दाङ- दाङस्थित नेपाल-भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनर्निनिर्माण र मर्मत भएको छ भने १८ वटा स्तम्भ मर्मत गर्न बाँकी छ। भारतसँग सीमा जोडिएको दाङका भूभागमा दुवै पक्षले सीमा स्तम्भ मर्मतको काम चाँडै हुने जनाएका छन्।
भारतसँग जोडिएको दाङको भूभाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन्। ७७ सीमा स्तम्भमध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन्। तीमध्ये अहिलेसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन्।
नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको मर्मत गरिसकेको छ भने बाँकी ४ मुख्य र एक सहायक स्तम्भ बनाउन बाँकी छ।
त्यसैगरी भारतले ११ मुख्य र १३ सहायक सीमा स्तम्भहरु निर्माण गरिसकेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल कोइलावासका प्रमुख प्रहरी निरीक्षक ईश्वरीप्रसाद खनालले बताए। ‘हाम्रो क्षेत्र ठूलो छ तर सडक सुविधा छैन,’ प्रहरी निरीक्षक खनालले भने, ‘सबै सीमा स्तम्भको अवस्था हेर्न मात्र पनि धेरै दिन लाग्छ।’
सीमा क्षेत्रका गाउँहरुमा पुग्न सडक सञ्जाल नभएकाले सबै नाकामा पुग्न कठिनाइ भएको उनले बताए । ‘आफ्नै देशको सीमाको अवस्था हेर्न भारतीय सडक प्रयोग गर्नुपर्छ,’ उनले भने, 'हतियार र गाडी लैजान नपाने भएकाले समस्या छ।’
भारतले अब ७ मुख्य र ५ सहायक स्तम्भ बनाउन बाँकी रहेको छ। नेपाल र भारत सरकारको सहमति अनुसार नेपालले बिजोर र भारतले जोर संख्याका सीमा स्तम्भहरु मर्मत गर्ने सहमति भएको छ।
कोइलावास क्षेत्रमा एउटा सीमा स्तम्भ खोलाले बगाएकोले दुवै देशको सहमति र नापी विभागको सुपरीवेक्षणमा निर्माण गरिने बताइएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार सीमा स्तम्भ मर्मत गर्ने टोली अहिले कपिलवस्तु क्षेत्रमा काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।