काठमाडौं- सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेल प्रशिक्षक, कोचलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिएका हुन्।
मंगलबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री विश्वकर्माले सो विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि जानकारी दिए।
'खेलकुद क्षेत्रको विकासका सरकारले खेलकुद विश्वविद्याल स्थापना गर्न अध्ययन कार्यदल गठन गरिसकेको छ,' उनले भने, 'तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने समेत सरकारको लक्ष्य छ।'
रंगशाला निर्माणका लागि सरकारले जग्गा प्राप्तीको काम अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ। सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तीको काम अघि बढाएको जानकारी दिएको छ।
मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको बताए।
सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी काम अघि बढाएको समेत दाबी गरे।
बैठकमा बोल्दै समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए। 'बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन आवश्यक छ,' शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराज श्रेष्ठले भने।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनौट निष्पक्ष ढंगले गर्न सरकारलाई सचेत गराएका थिए। 'प्रतिभाशाली खेलाडीहरुलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदक्षेत्रमा फड्को मार्न सक्छ,' समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले भने।
विश्वकर्माले सरकारले प्रतिभाशाली खेलाडीलाई खेल खेल्ने उचित वातावरण बनाउन सरकार असफल बनेको समेत आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।