काठमाडौं- मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औं वार्षिकोत्सव आज मनाइँदैछ।
२०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो। राससका संस्थापक रामराज पौड्याल हुन् भने भने उनको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुन्।
राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ।
राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्युजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ। राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्बिर लगायत सेवा प्रदान गर्दै आएको छ।
हाल राससमा १६१ स्थायी दरबन्दी र १५२ स्थानीय समाचारदाता कार्यरत छन्।
केन्द्रीय कार्यालय, भद्रकालीमा आज हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाबाट कर्मचारी एवं पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ।
समारोहमा राससबाट गत वर्षका उत्कृष्ट छनोट भएका समाचारदाता, आलेख, श्रव्य र तस्वीर विधामा पुरस्कार प्रदान गरिनेछ। प्रदेशगत रूपमा छानिएका समाचारदातालाई रासस प्रदेश कार्यालयले आयोजना गर्ने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ। यस वर्षदेखि राससले प्रदेशगतरूपमा पुरस्कार वितरण थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।