–'तिम्रो अघिल्लो संग्रह त फ्लप भो नि राइटरजी ।'
– 'हो र !'
– 'अब के गर्छौ ?'
– 'अब मिहिनेत गर्नुपर्ला ।'
– 'फेरि फ्लप हुने मन भो ?'
–'मिहिनेत गरेर सधैं फ्लप हुने भाग्य कहाँ छ र मेरो !'
– 'मेरो कथा लेख । तिमी हिट हुन्छौ ।'
– 'म कि तिमी हिट हुने ?'
म हाँसेँ मज्जैले ।
– 'रियल्ली भन्दै छु ।'
– 'म नि रियल्ली भन्दै छु ।'
– 'तिमी के भन्दै छौ ?'
– 'जे तिमी भन्दै छौ, त्यसको उल्टो ।'
–'तिमी नाम बदलेर लेख । मलाई हिट हुनु छैन, बरु तिमी हिट हुनेछौ ।'
फेरि म हाँसेँ मज्जैले ।
- 'मैले मान्छे मारेको छु, लेख्छौ ?'
– 'उसो भए पत्रकारलाई भन । भोलि उनीहरु सप्पैले लेख्नेछन् तिम्रो कथा ।'
फेरि म मज्जैले हाँसेँ ।
–'मर्डर हैन क्या । मैले कसैको टाइम खोसेर मारेको थिएँ ।'
–'तिम्ले हैन, बरु भन न मुभीको हिरोले । टू मच यार !'
–'कर्केनी बज्यैलाई मैले मारेको हुँ । तिमी पनि यो कथाको हिस्सा हौ ।'
–'पागल जस्तो कुरा नगर । कर्केनी बज्यै कालगतिले मरेकी हुन् ।'
– 'हो, सबै त्यसो ठान्छन् । तिमीलाई याद छ कर्केनी बज्यैको अनुहार?'
उताबाट कुनै आवाज आएन ।
–'हेलो... हेलो... हेलो... ओ राइटर जी !'
– 'कार्की बाजेको अनुहार याद आयो मलाई । उहाँ मरेको दिन याद आयो । तर यार मैले कर्केनी बज्यैलाई बिर्सिसकेछु।'
–'तिमीले जसरी मैले बिर्सिन सक्दिनँ नि । किनकि कर्केनी बज्यैको मृत्यु मेरो कारणले भएको हो।'
–'कसरी मरेकी हुन्, भन न त !'
–'फोनमा कहाँ भन्नु ! भेटेर भन्छु, हुन्न ?'
–'ओके ।'
–'तिमी आफ्नो फ्लप बुकको ह्याङओभरबाट बाहिर निस्किसकेको भए भेटौं आज।'
– 'कहाँ भेट्ने ?'
–'साइडकिक रेस्टुरेन्ट, हुन्न ?'
– 'हुन्छ । कति बजे ?'
–'म त दिनभर फ्री छु ।'
–'म नि फ्री नै छु ।'
–'चिया तिम्ले खुवाउँछौ होला नि ?'
म हाँसेँ ।
- 'ह्या ! वाइयात छौ तिमी ।'
- 'ल ल, मैं खुवाउला ।'
अब योभन्दा बढी जिस्काए मेरो कथा अलिखित हुनेछ ।
- 'ल हिँडिहाल है । म हिँडिहालेँ ।'
– 'हस् ।'
यति भनेर मैले फोन राखेँ।
राइटर मेरो साथी हो । ऊ र म बच्चैदेखि साथी छौं ।
उसको पहिलो कथासंग्रह निस्केको धेरैले चाल पाएनछन् । चर्चा र बिक्रीमा शून्य । नबिकेको कुरा अलिअलि पत्रपत्रिकाले थाहा दिए, त्योभन्दा बढी उसको अनुहारले।
हामी एकै ठाउँका हौं । एसएलसीसम्म सँगै पढ्यौं र खेल्यौं पनि । पछि म साइन्सको विद्यार्थी भएँ, ऊ साहित्यको । स्कुल छँदा ऊ कार्यक्रमहरुमा के-के सुनाइरहन्थ्यो।
उसको किताब मैले आज बिहान मात्र पढेँ । गजबका कथा छन् । प्राय: हाम्रै गाउँघरका चिनेजानेका मान्छेका अलि थ्रिलर टाइपमा फिक्सनाइज गरेर लेखेको छ । मज्जा लाग्यो मलाई । तर, त्यहाँ मेरो कथा थिएन, जुन कथा उसको किताबमा भएका कथाहरुभन्दा राम्रो बन्न सक्थ्यो।
साइडकिक रेस्टुरेन्टको एक कुनामा हामी दुई छौं । सहरमा यो उसको मन पर्ने रेटुरेन्ट हो।
– 'राइटरजी, कथा सुरु गरौं ?'
– 'पहिले कफी पिऔं ?'
- 'ओके ।'
उसले वेटरलाई नामसहित बोलायो–' सुखदेव !'
– 'हजुर सर ।'
– 'दुई कप क्यापेचिनो ।'
– 'हस् सर ।'
ऊ कम बोल्छ । मसँग हुँदा मैले नै बोल्न लगाउनुपर्छ ।
सोधिहालेँ- 'के छ भाउजूहरुको खबर ?'
– 'दाइहरुलाई सोध्नुपर्छ ।'
म हाँसेँ मज्जैले ।
– 'ल तिम्रो कथा सुरु गर ।'
– 'कफीपछि भनेका हैनौ तिम्ले ?'
– 'तिमी साँच्चै पागल हौ पागल !'
–'है !'
कफी आइपुग्यो ।
खाइसकियो ।
– 'सुरु गर तिम्रो कथा ।'
– 'खै पेन, पेपर ? कुनै बुलेट टिप्नुपर्ला नि ।'
– 'पर्दैन ।'
मैले मेरो कथा सुरु गरेँ –
'हामी त्यो बेला कक्षा पाँचमा पढ्थ्यौं । कर्केनी बज्यै मरेको वर्ष याद छ ? छैन तिमीलाई । बैशाख महिनातिर हो सायद । महिनाले केही गडबड गर्छ कि नाइँ कथामा ?'
– 'गडबड तिमीले गरिसकेका छौ, महिनाले खासै असर गर्दैन ।'
त्यत्रो सम्पत्तिले गर्दा कार्की बाजेलाई बढी दु:ख हुन्थ्यो । यदि कार्की बूढासँग केही नभएको भए सायद बूढाले पीर मान्थेनन्, सन्तान नहुनुमा । सन्तान नहुनुभन्दा पनि भएको सम्पत्तिले बढी दु:ख दिन्छ मान्छेलाई।
मैले भूमिका बाँधेर कथा सुरु गरेँ।
– 'ए । थाहा छ ? हामीलाई चकचक गर्न पूरै गाउँ पनि सानो हुन्थ्यो ! हेर न, यो शहरमा बिचरा बच्चाबच्चीलाई– घरको ग्यालरीमा क्रिकेट, फुटबल खेलेर बस्छन् । गाउँको मज्जा त अर्कै छ है ।'
– 'कर्केनी बज्यैले हामी सबैलाई माया चैं खत्रै गर्थिन् नि है ?'
– 'बाजे चैं खत्तम थिए नि बूढा, जहिल्यै गाली गर्ने । तर, बूढा अलि चाँडो मरेर हामीले गाली कम खायौ नि । के लाग्छ तिमीलाई ?'
– 'खासमा कुरा त्यही थियो । बूढाले हामीलाई जहिल्यै गाली मात्र गर्थे । पहेँलो लुगामा बसेका हुन्थे, भ्वाइलिन बजाउँथे । कथंकदाचित हामी उनको आँगनमा पुग्यो कि नानाभाँती गाली गर्थे । हामीलाई मात्र गरे हुन्थ्यो नि, हाम्रा बा-आमालाई समेत गाली गर्थे बूढा ! गाली यति कडा हुन्थे कि बुवा-आमाले सहन नसकेर मैले त धेरैपल्ट चड्कन पाएको छु । तिमीले कहिल्यै पायौ ? गाली पनि कस्ता, याद छन् तिमीलाई –
– राँड आमाले जन्माएका छोराछोरी कस्ता हुन्थे, यी साला राक्षस जस्ता !
– अन्धाधुन्द जन्माएका छोराछोरी !
– यस्ता सन्तान हुनुभन्दा नहुनु जाती !
त्यै भएर बुढाका सन्तान भएनन् नि था छ तिम्लाई ?' यति भन्दै म हाँसेँ ।
राइटर बोल्यो– 'तिमी कसको कथा भन्न आको भन त ?'
– 'यो भूमिका हो के' भन्दै म हाँसेँ ।
सुखदेव आइपुग्यो – 'सर अरु केइ ?'
राइटर बोल्यो– 'के खुवाउँछौ त ?'
सुखदेव हाँस्यो मात्र ।
– 'अलि पछि आऊ है '
– 'हस् सर' भनेर ऊ गयो ।
– 'अनि ?' राइटर बोल्यो ।
– 'तिमीलाई याद छ ? वर्षायाममा पानीले मकैका पात नमज्जाले बजाउँथ्यो, डरलाग्दो गरी । त्योभन्दा बढी कार्की बाजेको भ्वाइलिनको धुन ठोक्किन आउँथ्यो र झन् डरलाग्दो हुन्थ्यो । त्यही भएर पनि साउन-भदौतिर बिदा हुँदा अझै म घर जान्नँ । अनौठो डर आज पनि बाँकी छ मनमा । मेरी हजुरआमा भन्नुहुन्थ्यो- कार्कीको एकोहोरो शंख बज्यो ।'
'तिम्रो हजुरमाले कहिले त्यसो भन्नुभो ?'
राइटर बोल्यो–
– 'त्यो चैं मलाई नि सम्झना छ । यस्तो लाग्थ्यो, त्यो भ्वाइलिनलाई कार्की बाजेले दु:ख गाउन लाउँथे । त्यत्रो सम्पत्तिले गर्दा कार्की बाजेलाई बढी दु:ख हुन्थ्यो । यदि कार्की बूढासँग केही नभएको भए सायद बूढाले पीर मान्थेनन्, सन्तान नहुनुमा । सन्तान नहुनुभन्दा पनि भएको सम्पत्तिले बढी दु:ख दिन्छ मान्छेलाई, बूढालाई पनि त्यही भएको हो । र त रिस खन्याउँथे गाउँमाथि नै।'
'ए । तिम्लाई के लाग्छ, बज्यैको कमजोरी थियो कि बाजेको ?' यति भनेर राइटर चुप लाग्यो । बल्ल राइटरलाई कुरामा चाख लागेछ।
'खै यार, कता-कता सुनेथेँ मैले, कार्की बाजे नै त्यस्ता थिए रे । एक पल्ट छातीको जाँच गर्न जान्छु भन्दै लखनउ गएका थिए रे । फर्केलगत्तै जोगी बनेर हिँडेका हुन् रे । त्यही भएर उनमै कमजोरी थियो कि भन्ने लाग्छ । याद छ तिमीलाई ? बूढाको जिउमा जहिल्यै पहेँलो लुगा, निधारमा खरानी हुन्थ्यो । पहिले त जोगी नै भएर घर छोडेका थिए र पछि फर्केका रे । त्यसपछि मात्र कर्केनी बज्यैलाई गाली गर्न छोडेका रे । नत्र त हुने-नहुने भनेर गाली गर्थे रे…'
म बोल्दै थिएँ, राइटरले मेरो कुरा काट्दै भन्यो–
'तर बूढाको मलामी चैं गज्जबै थिए । मान्छे चैं कमाकै हुन् है !'
मैले राइटरको कुरामा सहमति जनाउँदै भनेँ, 'त्यो चैं हो । तर, तिमिलाई लाग्दैन ? पैसा जति उनका भाइभतिजाले काजक्रियामा लगाइदिए।'
मैले हाँस्दै भनेँ, 'कार्की बाजे मरेको दिन तँ मुख पढ्छस् भनेर आमाले कार्की बाजेको घर जान दिनुभएन । तर, हाम्रो घरसम्म बाजाको आवाज पुगेको थियो । म त्यो म्युजिकमा नाचेको थिए यार!'
'त्यही भएर त तिमी केयरलेस छौ । कहाँ हाँस्ने र कहाँ नाच्ने, मेसो नै पाउँदैनौ', हाँस्दै राइटरले भन्यो।
फेरि हाँस्दै मैले भनेँ, 'तिम्रो नि पार्टपुर्जाको चेकजाँच गराइहाल है । चाइनिज माल पो हो कि?'
'किन, चाइनिज माल प्रयोगमै आउँदैन र ?' राइटरले हाँस्दै भन्यो।
'आउँछ । मैले नक्कलीको कुरा गर्या।'
म हाँसेँ । ऊ पनि हाँस्यो ।
बहुत लोभी छ राइटर । हाँस्दा गालामा डिम्पल पर्छ, तर एकदम कम हाँस्छ । मीठो छ बोली, तर एकदम कम बोल्छ । कान ठूल्ठूला भएर हो कि, बढी सुन्छ।
- 'तिम्रो कुरा र कथाले मलाई सु लाग्यो । जाऊ ?' राइटर बोल्यो।
- 'नजाऊ, मेरो गोजीमै गर, मैले गर्दा सु लागेको भए', मैले भनेँ।
हाँस्दै राइटर बाथरुमतिर गयो।
मैले राइटरकै पाराले वेटरलाई बोलाएँ, 'सुखदेव !'
सुखदेव आफ्नै पाराले 'हजुर' भन्दै आइपुग्यो।
'के खुवाउँछौ त ?' अझै राइटर पारा देखाएँ ।
ऊ हाँस्यो मात्र ।
दुई प्लेट चिकेन कोथे म:म: ल्याऊँ है ।
- 'हस् सर ।'
- 'अनि अलिकति पानी ल्याउन सक्छौ ?'
उसले 'हुन्छ' वाला टाउको हल्लाएर गयो ।
- 'ल बाजेलाई कसैले मारेको रैनछ । बज्यैलाई तिमीले कसरी मार्यौे भन त', यति भन्दै राइटर हाँस्दै बस्यो ।
- 'बाजे मरेपछि कर्केनी बज्यैले समय कसरी थाहा पाउँथिन् थाहा छ ?' मैले राइटरको आँखामा हेर्दै सोधेँ।
- 'मलाई के थाहा ! तिमी नै उनको प्यारो नाति, नजिकका छिमेकी र हत्यारा पनि', राइटर बोल्यो।
- 'हो नि, याद गर त, कर्केनी बज्यै जमिन हेरेर समय भन्न सक्थिन् । घाँस काट्न जान लागेकी आईमाई हुन् या घाँस काटेर फर्केकी, स्कुलबाट भागेका केटाहरु हुन् या घडी नबोकी यात्रा गर्नेहरु, चिनेजानेका सबका लागि कर्केनी बज्यै घडी घर थिइन्।'
- 'खै यार, मैले ख्याल गरिनँ ।'
– 'तिम्रो अघिल्लो कथामा कल्पना बढी छ यार । जिन्दगी बुझ्ने भए घुम राइटर, घुम।'
– 'ओके । तिमीले भन्यौ अब घुम्छु', हाँस्दै राइटरले भन्यो।
– 'थाहा छ ? कर्केनी बज्यैले आँगनमा नौ-दस वटा धर्सा कोरेकी थिइन्।'
'सर नमस्कार' भन्दै एक केटी राइटरसँग बोल्न आइपुगिन्।
सँगै सुखदेवले म:म: लिएर आयो।
'नमस्कार', राइटरले अभिवादन फर्कायो।
केटी–'मलाई चिन्नुभो सर ?'
'बिर्सेछु मैले । सरी', अन्कनाउँदै राइटर बोल्यो।
केटी– 'हजुरको कविता एक पल्ट हामीले नि सुन्ने मौका पाएका थियौं, 'आफ्नो खोज' मा।
राइटर– 'ए ए , सम्झेँ ।'
केटी– 'सरलाई यता देख्दा भेटौं लागेर आएको।'
राइटर– 'ठीक छ नि ।'
राइटर– 'ऊ मेरो साथी माधव ।'
केटी– 'नमस्ते । म लिपि सापकोटा ।'
मैले नमस्ते फर्काएँ ।
केटी– 'खुसी लाग्यो सर भेटेर ।'
म– 'चिया पिऔं ?'
केटी– 'हैन सर । उता साथीहरु छन्, म जान्छु अब ।'
राइटरतिर हेर्दै– 'म जान्छु । बाइ सर ।'
ऊ त्यहाँबाट हिँडी।
- 'हैट् ! क्या चिज छे यार । यस्तीलाई पाए त इक्जाम नि छोडिदिन्थेँ । के गर्नु, आजसम्म न यस्ता पाइयो, न इक्जाम छोडियो', मैले आफ्नो दु:ख पोखेँ।
- 'खासमा म चिन्दिनँ यो केटीलाई । राम्री लागेर तिमीसँग परिचय गराउने बहानामा नाम पत्ता लगाएको । अब म कहिल्यै बिर्सिन्नँ यसको नाम, लिपि सापकोटा', हाँस्दै राइटरले भन्यो । मैले पनि हाँस्न कर लाग्यो।
दुवै जना म:म: खान थाल्यौं।
- 'ल भन अब, कर्केनी बज्यैको कथा', म:म:को डल्ला स्वाहा पारेपछि राइटरले भन्यो।
- 'म कहाँ थिएँ ? बिर्सेछु यार । याद छ तिमीलाइ ?' मैले भनेँ।
- 'तिमी भन्दै थियौ- कर्केनी बज्यैले आँगनमा ९/१० वटा धर्सो कोरेकी थिइन्', राइटरले सम्झायो।
- 'ए ए, हो । प्रत्येक धर्सोले कुनै एक समय बताउँथ्यो । जस्तो कि बिहान ७ बजे धाराको छायाले कुनै एक रेखालाई छुन्थ्यो, ८ बजे कुनै अर्को रेखालाई । छायाको घटबढ हुँदा प्रत्येक एक-एक रेखाले कुनै एउटा समय जनाउँथ्यो । त्यसरी दिउँसो १२ बजेपछि घरको पाल्किको छाया उनका समय–धर्सामा पर्थे । यो तरिकाले कर्किनी बज्यै लगभग समय ठीक भन्थिन् । कस्तो लाग्यो बज्यैको आइडिया ?'
- 'गज्जब यार । तिमीले यो कुरा कसरी थाहा पायौ नि ?'
– 'तिमी पो ज्ञानी थियौ, घर बाहिर निस्किन्थेनौ । मेरो त काम नै त्यही थियो, कसको घरमा के हुँदै छ, कसको घरमा के पकाए ? अरु गोप्य कुरा सुन्न चाहन्छौ त ? हामीभन्दा ठूला दाइ-दिदीको हर्कत पनि सुन्ने कि ?' म भनिरहेको थिएँ, ऊ हाँसिरहेको थियो र हाँस्दै भन्यो, 'मेरो बुबा कति कडा हुनुहुन्थो, तिम्लाई थाहा छ नि !'
– थाहा छ, गब्बर सिंह बूढा !' मैले भनेँ।
- 'ल बाँकी कुरा भन न', उसले भन्यो ।
म सरासर सुनाउन थालेँ-
त्यस्तै बैशाखतिरको कुरा होला सायद । स्कुल बिदा पनि थियो र त्यो साँझ हुरीबतास आएको थियो । पानी पनि परेकाले सायद बैशाख नै हुनपर्छ । त्यो दिन बिहानको खाना खाइसकेपछि म आराम पातो बोकेर खेल्न भनेर उषाको घरतिर जाँदै थिएँ । साइली अन्टी, धीरेन्द्रकी मम्मीको हातमा आसी र कम्मरमा बरो मुडेलो थियो । अन्टीले कर्केनी बज्यैसँग ट्याम सोधिन्।
बज्यैले ट्याम भनिन्- ११ बज्यो बा ।
साहिली अन्टी हिँडिन् त्यहाँबाट । मैले बज्यैको आँगनमा गएर बज्यैलाई सोधेँ, 'बज्यै, तमिले ट्याम क्या हरी भन्यौ ?'
- 'त्यसै भन्नो छु । मिलिजान्छ राइके बा ।'
- 'भन न बजै !'
– 'हेर, मैले यी धड्का तान्यै छु ।
दस बजे पाल्किको छाएल यैथी पुग्दो छ, एघार बजे यैथी, बार बजे थैथी' भन्दै बज्यैले मलाई रेखाहरु देखाइन्।
– 'अनि ?' राइटर बोल्यो।
- 'मैले पनि यो कुरा त्यही दिन मात्र थाहा पाएको थिए', मैले सहज हुँदै उत्तर दिए।
त्यसपछि म उषाको घरतिर लागेँ । जब म आराम पातो खेलेर फर्किँदै थिएँ, कर्केनी बज्यैको घरमा कोही थिएन । घाम एकदम चर्को थियो ।
म ती धर्सो हेर्न फेरि कर्केनी बज्यैको आँगनमा पुगेँ । त्यो बेला घामले तीन बजेको धर्सो नाघिसकेको थियो ।
थाहा छ मैले के गरेँ ?
मैले सब धर्सोको यता-उता त्यत्रै रेखाहरु कोर्दै गएँ । बिहान ७ बजेको धर्सादेखि कोर्न सुरु गरेको थिएँ । जब म पाँच बजेको धर्सो यता-उता रेखाहरु कोर्दै थिएँ, घरभित्रबाट बज्यै आइन् । सायद सुतेकी हुँदी हुन्।
मलाई देखेपछि भनिन्, 'क्या हद्दो छै बा ?'
मैले पाँच बजेको रेखामा भर्खर मात्रै कोर्न सुरु गरेको थिएँ । सायद एउटा मात्रै रेखा कोरिसक्या थिएँ ।
म हड्बडाउँदै उठेँ, 'केइ नाइँ बज्यै ।'
बज्यैले आँगनभरि आँखा डुलाइन् अनि भनिन्, 'खलो किन ओधारी त, बा ?'
म केही बोलिनँ । के बोल्नु यार !
'अनि तिमीले त्यस्तो चैं किन गर्या भन त ?' राइटरले सोध्यो।
'खै, उपद्रो गर्न कारण चाहिन्छ र बच्चालाई ?' मैले भनेँ।
'ल बाँकी भन', राइटरले बोल्यो ।
अनि बज्यैले आँगन राम्रोसँग नियालिन् ।
बज्यैले आफ्ना समय-रेखा वरिपरि अरु रेखा देख्दा कन्फ्युज भइछन् र भनिन्, 'यसो क्या हरि त बा?'
म पत्थर झैं उभिइराखेँ।
बज्यै पाल्किभित्र गइन् र खाँबोमा खोपिएको आसि झिकिन् । म दगुरेर सडकतिर लागेँ, आसिले मलाई पो हान्ने हुन् कि ठानेर । तर होइन रैछ । बज्यै आँगनमा गएर मैले कोरेका रेखाहरुमा माटो भर्न थालिन् । म घरतिर लागेँ।
त्यो साँझ खूब ठूलो हावाहुरी आयो । पानी पनि पर्यो।
म बिहान उठेर आँपका रुखतिर चहार्दै हिँडेको थिएँ, हावाले आँप बेस्सरी झारेको थियो । जब म बज्यैकै घर पछाडिको आँपको फेदमुनि थिएँ, मैले बज्यैको घर अगाडिको कुरा सुनेँ।
– 'बजै, ट्याम कति भो ?'
– 'नौ बज्यो कि बा, हिजो माधबले सबै रेखा बिगाडी दियो र।'
म बज्यैको घरको साइडतिरको भित्तामा अडेस लागेर सब कुरा सुनिरहेको थिएँ।
– 'अनुहार निनाउरो छ त, तम्रो सन्चो छैन क्या ?'
– 'ज्वरो आउनु भयो जसो भयाको छ', बज्यैले भनिन् ।
– 'काइ पुडि मद्दी भयौ कि ?'
– 'मर्या त हलुको हुन्या छियो', बज्यैले भनिन् ।
– 'खाना खायौ क्या बजै ?'
– 'दुई गाँस टिपेँ बा', बज्यैले भनिन् ।
मिस्त्री ठूलोबा गए । बज्यै घरभित्र गइन् । म आँगनमा गएँ ।
आँगनमा सब रेखा उत्तिकै धूमिल थिए, अघिल्लो दिनको पानीले गर्दा । बज्यैले कुन रेखा मेरा कुन रेखा आफ्ना, छुट्याउन गाह्रो थियो । अनि म घरतिर हिँडेँ ।
सायद एक हप्तापछि होला, बिहान म उठ्या बेला फुपू र आमा कुरा गरिराखेका थिए ।
'मरिन् क्या भन्या, सुख पाइन् ।'
'अँ भन्या ।'
मलाई देख्नासाथ आमाले भन्नुभाको थियो, 'तैले बज्यैका धड्का किन बिगाडी छि ?'
म चुपचाप बसेको थिएँ ।
'बज्यै त आज पुडि मरिन् ।'
– 'सकियो तिम्रो कथा । हैन त ?' राइटरले हाँस्दै सोध्यो ।
– 'हो यार । आज पनि लाग्छ, मैले गर्दा कर्केनी बज्यै मरेकी हुन् । मैले उनको चल्ने समय खोसिदिए झैं लाग्छ।'
राइटर एकोहोरो हाँसिरह्यो ।
कैलाली, हाल काठमाडौं ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।