काठमाडौं– रुखहरुले पालुवा हाल्दै गर्दा २०६२ सालले नयाँ फूल फुलायो– बैसाख। विम्बकवि रमेश श्रेष्ठलाई कवितामा नयाँ पालुवा हाल्नु थियो। फेवा–किनारतिर टहलिँदा उनमा एकाएक सोच आयो– टिकटमा एकल कविता वाचन।
नयाँवर्षको संकल्प पूरा गर्नतिर लागे उनी।
यसअघि पोखरेली स्रष्टाहरुले नै सुरु गरेका थिए टिकटमा मुक्तक। पोखरेली युवा सांस्कृतिक परिवारले पहिलो पटक २०३५ माघ २० गते शुल्कसहित मुक्तक सुनाउने कार्यक्रम गरेको थियो। हुन त त्यसअघि पनि एकल कविता वाचनका कार्यक्रम नभएका होइनन्। रमेशले आँटै गरे– कविता वाचनको कार्यक्रम सुरु गर्नुपर्छ। सित्तैमा होइन टिकटमा। उनलाई लाग्थ्यो– साधना र परिश्रमको फल हो कविता; यसको पनि मूल्य हुनुपर्छ।
एउटा विम्बकविले माछापुच्छ्रेको चुचुरोमा स्निग्ध भएर ठडिएको देख्यो कविता। फेवातालमा बहने डुंगाले हल्लाइदिने छालसँगै कविता कुलकुलाएको सुन्यो। र, सिंगो पोखराभरि कविताको विम्बैविम्ब छरिएको पायो। ऊ पुग्यो केही अग्रजकहाँ र प्रस्ताव राख्यो– ‘अब हामीले टिकटमा कविता वाचनको कार्यक्रम राख्नुपर्छ। यसका लागि केही योजना बनाऔं र नयाँ प्रयोग पोखराबाटै थालनी गरौं।’
ती अग्रजले उनको प्रस्तावलाई चासोपूर्वक लिएनन्। 'सोचे होलान्, पैसा बटुलेर कविता सुनाउने? गलत काम त गर्दै छैन भन्ने पनि लाग्यो,’ उनी भन्छन्, ‘रमेश कवितामाथि दुस्साहस गर्दैछ भन्नेहरु पनि निस्किएछन्। तर मेरो त्यो दुस्साहस थिएन।'
अग्रजको ‘उपदेश’ सुने र, उनी फर्किए। तर निराश भएनन्। किनकि हुटहुटी थियो– अरुले साथ नदिए पनि कुनै तरिकाले कविताको मूल्यलाई स्थापित गराउँछु भन्ने।
त्यसबेला उनी कविता क्लब नेपालका संस्थापक अध्यक्ष थिए। ‘कविताको प्रवर्द्धन र मूल्य खोजीका लागि नयाँ गरौं भन्ने ममा सोच थियो,’ उनी १२ वर्षअघि फर्किए, ‘एकल कवितालाई टिकटमा आयोजना गर्न सकिन्छ भन्ने कन्सेप्ट नै थिएन। तर केही हितैषी र कविताप्रेमी साथीको सहयोगबाट पोखराले टिकटमा एकल कविता वाचनको सुरुवात गर्ने मौका पायो।’

यसरी, रमेश श्रेष्ठ टिकटमा एकल कविता वाचनका प्रथम प्रयोक्ता बन्न पुगे। २०६२ जेठ २७ गते शुक्रबार पोखराको ओपन हाउस रेस्टुरेन्टमा उनले आफ्ना मूल्यवान् कविता मूल्यवान् दर्शक/स्रोताका लागि पस्किए। उनी आफूमात्रै कविता वाचन गरिरहेका थिएनन्। सँगसँगै उनले चाँजो मिलाएका थिए, सुमधुर संगीतको।
पछिल्लो पंक्तिमा महिपाल लामा, सुनिल थापा, राजा मुखिया, दीलिप गायक र अमित गुरुङ संगीतको धुन फिँजाइरहेका थिए, रमेश आफ्ना कवितालाई धुनसँगै मिसाइरहेका थिए।
एक जना बराबर टिकटको मूल्य राखिएको थियो पाँच सय। ‘५०–६० जना आऊलान् भन्ने थियो,’ उनी तरंगित हुँदै सुनाउँछन्, ‘एक सय दुई जना सहभागी हुनुभएछ। सहभागीबाटै ५१ हजार संकलन भयो।’
त्यत्रो कविताप्रेमीको लहरमा केही अग्रज भने उपस्थित थिएनन्। तिनै अग्रज, जसलाई यही कार्यक्रमको योजना बनाउन उनी सल्लाह लिन पुगेका थिए।
‘हल खचाखच भए पनि आफूले मानेका ‘दाइहरु’ नआउँदा खल्लो लागेको थियो,’ उनी सुनाउँछन्, ‘त्यो तितो अझै कताकता मनमा गाडिएको छ।’ तर उनमा एउटा चुकचुक बाँकी नै रहेछ– कार्यक्रमको भिडियो रेकर्ड नभएकोमा।
त्यसको करिब डेढ वर्षपछि २०६३ माघ २२ मा उनी राजधानी आइपुगे। नेपाल पर्यटन बोर्डमा आयोजित एकल कविता वाचनमा उनी सुनिए, सशुल्क। यहाँ भने प्रति टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको थियो। विभिन्न कम्पनीले कार्यक्रमको प्रायोजन गरेका थिए। ‘कति सहभागी थिए र कवि रुपैयाँ संकलन भयो, थाहा पनि भएन,’ उनी भन्छन्, ‘मलाई ४० हजारजति दिइएको थियो।’ यसलाई उनी आम कविप्रतिको सम्मान र कविताको मूल्य हो भन्न रुचाउँछन्।

त्यसयता उनले नौ वटा एकल कविता वाचन गरिसकेका छन्। इंग्ल्यान्डको भूमिमा पनि उनले दुई ठाउँ नेपाली कविताको छाप छोडेर आए सन् २०११ मा। एउटा टिकटको मूल्य पाँच पाउन्ड तोकिएको कार्यक्रमबाट उनलाई आयोजकले एक लाख रुपैयाँभन्दा बढी नै थमाइदिएका थिए।
कविता वाचनको पछिल्लो शृंखला रह्यो कतार। कतारमा रहेका नेपालीहरुको साहित्यिक संस्थाले सन् २०१७ मा आयोजना गरेको एकल वाचनमा रमेशले १५ वटा कविता सुनाएका थिए।
भूगोलअनुसार कविताका दर्शक फरकफरक पाइने गरेको उनले अनुभव साटे। ‘खाडी मुलुकमा कामको अत्यधिक चाप हुन्छ। लेख्नेपढ्न समय निकाल्नै गाह्रो भएकाले यस्ता कार्यक्रममा रुचिपूर्वक आउने कम हुँदा रहेछन्,’ उनले देखेका थिए, ‘युरोपियन देशमा भने कार्यक्रम भव्य तरिकाले गरिएको हुन्छ, कविता कन्सर्ट जस्तो।’
देशबाहिर समेत उनले दुई ठाउँ आफ्नो पर्फमेन्स देखाइसकेका छन्। वाचनले पनि कविको क्षमता र प्रस्तुति चिनाउने ठान्छन् उनी। ‘कविता किताबमा पढ्नु एउटा पाटो भयो,’ उनी भन्छन्, ‘दर्शकहरुसामु हाउभाउसहित गरिएको कविता प्रस्तुतिले बेग्लै महत्व राख्छ।’
महँगो टिकट नै काटेर कविता सुन्न किन जाने?
प्रश्न झर्नासाथ उनले प्रतिप्रश्न गरिहाले, ‘कवितालाई नै संगीत भरेर गाएपछि गायकले लाखौं कमाउने, अनि कविता चाहिँ सधैं मूल्यहीन भइराख्नुपर्ने?’
उनको प्रश्न गलत थिएन। कविताको मात्र होइन कला–साहित्य सबैको मूल्य हुनुपर्छ। तर एकल कविताका नाममा भित्रिएका केही विकृति उनलाई पटक्कै चित्त बुझेको छैन। थोरै भए पनि कविताको मूल्य हुनुपर्छ भन्छन् उनी।
प्रायः शनिबार कतै न कतै एकल कविता वाचन कार्यक्रम भइरहेका हुन्छन्। केही संस्थाले त नियमित रुपमै फरकफरक कविको उपस्थितिमा हल भाडामा लिएरै कार्यक्रम आयोजना गर्दै आएका छन्।
‘आफू मञ्चमा आउनका लागि आफैं कार्यक्रमको व्यवस्थापन गर्न तम्सिनेहरु पनि छन् भन्ने सुनिन्छ,’ उनलाई लागेको हो, ‘कविता लेख्ने कम तर वाचन गर्न रुचाउने बढी भए भने त्यहाँ सोच्नुपर्ने हुन्छ।’ उनको संकेत थियो, धैर्य र साधना गर्नेहरु कम हुँदै गए। हतारमा छपाउने र मञ्च पाउनासाथ सुनाइहाल्ने प्रवृत्ति बढ्यो।
उनको चिन्ता प्रस्ट छ– यो प्रवृत्ति कविताका लागि घातक हो।
‘कवितामा अहिले मेहनत गर्नेहरु निकै कम देख्छु। कविता सस्तो हुनुहुन्न, कवि त कविता जस्तै पो देखिनुपर्छ,’ उनी अर्को समस्या पनि देख्छन्, ‘नयाँ पुस्ताले अग्रजलाई नगन्ने अनि अग्रजले नयाँलाई नपत्याउने प्रवृत्ति निकै झाँगिएको छ। यसले कसैलाई भलो गर्दैन।’

फर्केर हेर्दा के सोच्दा हुन् रमेश?
‘आफूले कुनै पनि काम थाल्दा जोखिम निकै हुँदो रहेछ,’ उनले दृष्टान्त दिए, ‘रिस्क लिएर नारायणगोपालले गाएका थिए। पछि अरुले उनकै शैली पछ्याए तर जोखिम त उनले मात्रै लिएका हुन् नि।’
नेपाली कवितालाई मूल्य र मान्यता प्रदान गर्न भन्दै टिकटमा एकल कविता वाचन सुरुवात गरेका रमेश १२ वर्षपछि पुन: पोखरा नै फर्किएका छन्, कविता सुनाउन। शुक्रबार (आज) उनी 'कविता र साँझ' मा रहनेछन्। बाल अनाथालयको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा २० वटा कविता सुनाउने तयारी छ उनको।
जहाँबाट टिकटमा कविता वाचनको सुरुवात गरेका थिए, त्यही ठाउँमा १२ वर्षपछि उभिनै लाग्दा कस्तो महसुस गरेका होलान् उनले?
'मेरो पहिलो कार्यक्रम लाइभ म्युजिककै साथमा थियो। अहिले टिपिकल नेपाली बाजा सारंगी, बाँसुरीको साथमा सुनाउँदैछु,' उनी भन्छन्, 'कविताका किताब किनेर पढ्न छोड्दै गएको बेला सुनाएरै कविताप्रतिको प्रेम जगाइराख्नुपर्छ भनेर लागिरहेको हुँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।