काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
रुपन्देहीले मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै रुपन्देही ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
विराटनगर किंग्सले दिएको ९४ रनको झिनो लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ५ विकेटको क्षतिमा पार गर्यो। रुपन्देहीका लागि पुनित मेहराले ४६ रन जोडे। उनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे। भीम सार्कीले नटआउट १२ जोडे।
बलिङमा विराटनगरका अविनास यादवले २ विकेट लिए। करण केसी, सुसन भारी र सांसद शेखले १–१ विकेट हात पारे।
त्यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रन मात्र जोड्न सक्यो। उसका लागि कप्तान करण केसीले सबैभन्दा नटआउट १७ रन जोडे। उनले १४ बलमा १ छक्का हिर्काए। यस्तै मोहमद असादुल्लह खानले १६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केका थिए।
बलिङमा रुपन्देहीका पुनित मेहराले ३ विकेट लिए। कप्तान बसन्त रेग्मीले २ विकेट हात पार्दा ललितसिंह भण्डारी र विक्रम शोवले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।