इच्छुकका सपनामा न्याय खोज्दै तक्मा

रामकुमार डिसी

Nepal Live

द्वन्द्वकालमा राज्य पक्षबाट मारिएका कवि एवं पत्रकार कृष्णसेन इच्छुककी श्रीमती तक्मा केसी। तस्बिरः


हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौं।

यस्तै बुलन्द सृजनामार्फत् कवि एवं पत्रकार कृष्णसेन ‘इच्छुक’ राज्यलाई चुनौती दिइरहन्थे। शासक-प्रशासक यसप्रति सहिष्णु हुने कुरै भएन। 

राज्यलाई हाँक दिएकै कारण इच्छुकले विभिन्न समयमा विभिन्न जेलका चिसा–अध्यारा कोठा भोग्नुपर्‍यो। कुटाइ खानुपर्‍यो, यातना सहनुपर्‍यो। अन्ततः जीवनै शासकका निम्ति चढाउनुपर्‍यो, इच्छुकले। 

देशले एउटा होनाहार कवि र पत्रकार गुमायो १३ जेठ २०५९ मा। तक्माले आदर्श पति गुमाइन्। जेठ ६ गते गिरफ्तार गरी महेन्द्र पुलिस क्लब पुर्‍याइएका इच्छुकको हिरासतमै हत्या भयो। 

त्यसयता इच्छुकको कलमले विद्रोहका लागि जुरुक्कै उचाल्ने कविता लेखेन। तक्माले प्रिय पतिका हात चुम्न पाइनन्। समीक्षाले पिताको प्रेममय अंगालोमा लुटपुटिन पाइनन्। 

इच्छुकसँगको त्यो भेट
समय २०२६ सालको हो। तक्मा केसी नर्सिङ पढ्दै थिइन्। इच्छुक चाहिँ दाङ, घोराहीको महेन्द्र क्याम्पसमा पढ्दै थिए। 

तक्माका दाइहरू इच्छुकसँगै पढ्थे। दौंतरी थिए उनीहरू। त्यसैले इच्छुक पनि त्यसै सालको एकदिन तक्माको घरमा आए दाइहरूसँग। पहिले देखभेट त्यही बेला भयो इच्छुक-तक्माको। 

‘उहाँ महेन्द्र क्याम्पसमा दाइसँग पढ्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘दाइसँगै उहाँ एकदिन हाम्रो घरमा आउनुभयो। उहाँहरू साथी-साथी हुनुहुन्थ्यो। त्यसैबेला हाम्रो पहिले देखाभेट भयो।’

पहिलो भेटकै केही समयपछि तक्मा इच्छुकको कवि व्यक्तित्वसँग साक्षात्कार भइन्। ‘उहाँले कविता पनि लेख्नुहुन्छ भन्ने सुनेकी थिएँ,’ उनले सम्झिइन्, ‘पछि दाइको डायरीमा मैले उहाँका एक/दुईटा कविता भेट्टाएकी थिएँ।’

प्रवीणता प्रमाणपत्र तह (पिसिएल)मा नर्सिङ सकेर अनमीका विद्यार्थी पढाउन नेपालगञ्ज गइन् तक्मा। त्यहाँ पाँच वर्ष पढाएपछि नर्सिङमा स्नातक गर्न काठमाडौं आइन्। 

स्नातकको पढाइ सुरु हुनै आँटेका बेला इच्छुक तक्माको हात माग्न आए, सार्थीमार्फत्। त्यतिबेला तक्माले हुन्छ/हुँदैन केही पनि भनिनन्। स्नातकको पढाइसकेपछि मात्रै बिहे गर्ने कुरा सुनाइन्।

इच्छुक पनि उनलाई पर्खेर बसे। अन्ततः २०४८ सालमा बिहे भयो इच्छुक-तक्माको। 

इच्छुक प्रतिरोधी कविता लेख्थे। विद्यार्थी राजनीति गर्थे। सजिलो लयमा थिएन उनको जीवन। तक्मा भने नर्सिङमा स्नातक सकेर नेपालगञ्जमा पढाइरहेकी थिइन्। 

उनको जीवन एक प्रकारले ‘सेटल’ थियो।  

करिअरका हिसाबले कुनै टुंगो नभएको मान्छेलाई किन स्वीकार गरिन् त उनले? 

‘उहाँको व्यक्तित्वले गर्दा पनि हो,’ उनले कारण खुलाइन्, ‘उहाँको कवि व्यक्तित्व उति बेलै प्रकट भइसकेको थियो। उहाँ असल व्यक्ति भन्ने पनि मलाई लागेको थियो। म आफैं पनि सक्षम भएकाले आर्थिक पाटो मैले नै भए पनि सम्हाल्न सक्छु भन्ने लागेको थियो।’ 

आफूसँग राजनीतिक चेत पनि भएकाले इच्छुकलाई सजिलै चिन्न सकेको बताउँछिन् उनी। ‘उहाँ राजनीति नै गर्नुहुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘म पनि त्यो बेला सामान्य रूपमा विद्यार्थी राजनीतिमा संलग्न थिएँ। माइतीमा पनि राजनीतिक चेत भएका दाइहरू हुनुहुन्थ्यो। त्यो चेत अलिकति भए पनि मसँग थियो। त्यसैले उहाँलाई चिन्न गाह्रो भएन।’

सम्बन्धको अल्पायु
बिहेपछि निकै कम समय मात्रै उनीहरूले सँगै बिताउन पाए। दशकको वैवाहिक जीवनमा इच्छुकसँग लामो समय सँगै बिताएको सम्झना छैन तक्मासँग। 

‘विवाहको दश वर्षमा अधिकांश समय म काठमाडौं बाहिरै थिएँ,’ उनी भन्छिन्, ‘उहाँ पनि दुई वर्ष त जेलमै बस्नुभयो। हामीले सँगै बिताएको समय त निकै कमै मात्र।’ 

नर्सिङको पढाइ सकेर उनी अध्यापनमा लागिन्। अधिकांश समय काठमाडौँ बाहिरै रहिन्। उता इच्छुक पत्रकारिता र राजनीतिमा व्यस्त रहे। ०५२ देखि ‘माओवादी जनयुद्ध’ सुरु भएपछि इच्छुको धेरै समय जेलमै बित्यो। प्रतिकूल राजनीतिक अवस्थाका कारण उनी खुलम्खुल्ला हिँड्न पाएनन्। 

०५० सालमा उनीहरुकी छोरी जन्मिइन्। छोरीसँग पनि खासै समय बिताउन पाएनन् इच्छुकले। बुबाको हत्या गरिँदा समीक्षा ९ वर्षकी मात्रै थिइन्। उनले पनि धेरै समय बुवासँग बिताउन पाइनन्। ‘बुवाको हत्या गरिँदा छोरी सानै थिइन् त्यो बेला,’ उनी सम्झिन्छिन्, ‘उहाँ छोरीसँग लामो समय बसेको भनेको करिब एक वर्ष जति मात्रै हो।’

इच्छुकलाई वेवास्ता
द्वन्द्वकालीन मुद्दा टुंगो लगाउने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनाइयो। 

शान्ति प्रक्रिया सुरु भएको १२ वर्ष बितिसक्दा पनि यसको महत्वपूर्ण पाटो संक्रमणकालीन न्यायमा खासै प्रगति भएको छैन। पटक-पटक म्याद थपिएका आयोगको म्याद पछिल्लो पटक एक वर्षका लागि थपिएको छ। 

न्याय पाइएला कि भन्ने आसासहित तक्माले पनि इच्छुक हत्याको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता गरिन्। तर, आयोगबाट अहिलेसम्म एक पटक पनि आफूहरुसँग सोधखोज नभएको गुनासो उनको छ। ‘आयोगबाट कोही पनि आएर हामीसँग सोधेको छैनन्,’ उनी भन्छिन्, ‘लडाईंमा प्रत्यक्ष समावेश नभएको मान्छेलाई पीडा दिनु, मार्नु भनेको त जघन्य अपराध नै हो। त्यसको निष्पक्ष जाँच भएर आयोगले जे गर्नुपर्ने हो, त्यो गर्नुपर्छ।’

आयोगले केही गर्ला भन्ने धेरै आसा पनि छैन उनीसँग। ‘हेर्दाखेरी केही होला जस्तो पनि देखिँदैन,’ उनको गुनासो छ, ‘मैले निवेदन हालेको पनि यत्रो समय भयो। खैत के भयो? अहिले फेरी आयोगको म्याद थपिँदै छ भन्ने सुन्दैछु। हाम्रो नाममा जागिर खाने काम मात्रै भएको छ कि जस्तो लाग्छ।’

आयोगबाट मात्र होइन् आफ्नै ठानेका नेताबाट पनि इच्छुकप्रति बेवास्ता भएको महसुस उनले गरेकी छिन्। युद्ध हाँकेका नेताहरुसँग पहिलेजस्तो अहिले भेटघाट र हार्दिकता नभएको बताउँछिन् उनी। भन्छिन्, ‘पहिले जस्तो हार्दिकता र बाक्लो भेटघाट छैन्। कहिलेकाहीँ  कार्यक्रममा मात्रै भेटघाट हुने हो। विस्तारै त्यो पनि टाढा-टाढा भएको जस्तो देखिन्छ।’

‘इच्छुकका सपना’ पूरा भए मात्र न्याय
इच्छुकका सपना कति पूरा भए, कति बाँकी नै छन्?,' हाम्रो प्रश्न सुन्ने बित्तिकै तक्माले असन्तुष्टि व्यक्त गरिन्। आफ्नो मूल्यांकनबाट कतै पनि सन्तोष गर्ने ठाउँ नभेट्टाउने बताउँछिन्।

‘त्यो त मैले भनिराख्नुपर्छ भन्ने नै लाग्दैन, सबै जगजायरै छ,’ उनको मूल्यांकन छ, ‘ती सपना अहिले धेरै टाढाजस्तो देखिन्छ। जुन सपनाको लागि युद्ध लडिएको थियो त्यसका सञ्चालकहरु अहिले सरकारमै छन्। रुपमा हेर्दा के-के गरेको जस्तो देखिने तर सारमा हेर्दा जसले जेका निम्ति लडेका थिए उनीहरुले के पाए? आधारभूत तहका जनताले के पाए?’ 

इच्छुकका सपना जति पूरा हुन्छन्, त्यति नै उनीप्रति साँचो न्याय हुने बताउँछिन् तक्मा। ‘मुख्य कुरा उहाँले देख्नुभएको सपनाको हो,’ उनी भन्छिन्, ‘त्यो पूरा भयो भने हामीलाई खुसी लाग्छ। न्याय पाएको महसुस हुन्छ।’

इच्छुकका सपना पूरा गर्न नसकिए कानुनी न्याय भएपनि दिनुपर्ने बताउँछिन उनी। ‘पहिलो त उहाँले देखेको सपना पूरा गर्नु हो’, उनको भनाइ छ, ‘त्यो सपना पूरा गर्न सक्नुहुन्न भने दोस्रो परिवारलाई न्याय दिन सक्नुपर्ने हो। दुइटै न्याय नहुने हो भने यसलाई एउटा बिडम्बना नै भन्नुपर्छ।’

सबै तस्बिरः निमेषजंग राई/नेपाल लाइभ

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने