भरतपुर- चितवनमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–८ सीताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर–१३ का ५० वर्षीय सुकदेव कोइराला र उनकी श्रीमती ४५ वर्षीया अम्बिका रहेका छन्।
भरतपुरबाट गीतानगर जाँदै गरेको ना४ख ४९८२ नंको ट्रकले सोही दिशातर्फ गइरहेको ना४२प ४२३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकले ठक्कर दिएको मोटरसाइकल पुनः गीतानगरबाट भरतपुर आउँदै गरेको ना७ख १५६० नंको बसमा ठोक्किएको थियो।
ट्रक र बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस, ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ।
यस्तै चितवनमा रूखबाट लडेर भरतपुर–९ सरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसालको मृत्यु भएको छ। रूखमा घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उपचारमा अस्पतालको लापरवाहीका कारण भुसालको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन्। तोडफोडबाट अस्पतालको रिसेप्सनको सिसा फुटेको छ भने कागजपत्र च्यातिएको छ। तोडफोडमा संलग्नको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।