काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टिम धनगढी स्टार्सले २ विदेशी खेलाडी आवद्ध गरेको छ।
आगामी माघ २६ देखि फागुन ११ गतेसम्म आयोजना हुने डिपिएलका लागि धनगढी स्टार्सले युएईका राष्ट्रिय क्रिकेटर रोहन मुस्तफा र भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीलाई स्टार्सले अनुबन्ध गरेको हो।
दायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ६४२ रन तथा टि-२० मा ४११ रन बनाएका छन्। यस्तै बलिङ्गतर्फ एकदिवसीयमा २८ विकेट तथा टि-२० मा १९ विकेट लिएका छन्।
सागर त्रिबेदी सन् २०१५ को इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन्। उनि दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन्। उनले मुम्बई टिमको लागि खेलीसकेका छन्।
टिम मालिक कृष्ण बोहराले सन्तुलित टिम बनाउनका लागि मुस्ताफा र त्रिवेदीलाई आबद्ध गरेको बताए। उनले भने, 'टिम सन्तुलित बनाउने प्रयास स्वरुप दुई विदेशी खेलाडीहरुलाई ल्याएका हौं। अक्सनमा हामीले चाहे अनुरुप ७० प्रतिशत खेलाडीहरु टिममा भित्र्याउन सफल भएका छौ। टिम कप्तान सोमपाल कामिले राम्रो टिम बनाउन प्रयास गरिरहनु भएको छ। आगामी ३ वर्ष धनगढी स्टार्सको यो टिमले राम्रो प्रदर्शन गर्नेमा आसावादी छौं।'
धनगढी स्टार्स टिम :- सोमपाल कामी (रणनीतिक खेलाडी), पवन सर्राफ, सुनील धमला, अमित श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरिबहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दीप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर, रोहान मुस्ताफा र सागर त्रिबेदी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।