काठमाडौं – ५२ टाँका लगाउनुपर्ने बाग्लुङको हरिचौर गाउँपालिका–६ का सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने २ प्रहरीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
४० वर्षीय सोमबहादुरलाई गल्कोट–३ स्थित हटिया प्रहरी चौकीमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाले कुटपिट गरेका थिए। श्रीमानई मार्ने नियतले प्रहरीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सोमबहादुरकी श्रीमती कृष्णकुमारीले किटानी जाहेरी दिएकी हुन्।
उनले समान्य विवाद हुँदा मरणासन्न हुने गरी प्रहरी जवानद्धयले कुटपिट गरेको र गुहार मागेपछि मात्रै छाडेको भन्दै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको बताइन् । श्रीमतीकाे जाहेरीपछि प्रहरी जवानद्धयविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान सुरु गरिएको बाग्लुङका डिएसपी दीपक रेग्मीले जानकारी दिए।
गत पुस २९ गते राति ९ बजे चौकीअगाडि उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका सोमबहादुरको शरीरमा ५२ टाँका लगाउनुपरेको छ। पोखराको फेवा सिटी अस्पतालमा उपचाररत उनी डिस्चार्ज भइसकेका छन् । हाल उनको अवस्था सामान्य छ।
याे पनि पढ्नुस्:
प्रहरीको कुटाइबाट सोमबहादुरलाई लगाउनुपर्यो ५२ टाँका, २ प्रहरी निलम्बित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।