काठमाडाैं- शिक्षा सेवाका कर्मचारीहरुले संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा खटाउन सरकारसँग माग गरेका छन्।
कर्मचारी समायोजन ऐनअनुसार आफूहरुलाई प्रदेश र स्थानीय तहमा खटाउँदा संघीय सेवाको दरबन्दी भने कायमै राख्न माग गर्दै शिक्षा मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन्।
उनीहरुले कर्मचारी समायोजन गर्दा प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकासमा प्रतिकूल असर पर्न नदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा आफूहरुलाई खटाउन माग गर्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराइएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, शिक्षा विभागीय कार्य समितिका अध्यक्ष हरिभक्त पौडेलले जानकारी दिए।
शिक्षा सेवाका कर्मचारीले कर्मचारी समायोजन ऐनमा आफूहरुको बरियताक्रममा नै प्रतिकूल हुने व्यवस्था गरिएको उल्लेख गर्दै तत्काल सो प्रावधान हटाउन पनि सरकारसँग माग गरेका छन्। उनीहरुले आफूहरुको सो माग तत्काल सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षा सेवाका कर्मचारीहरुको मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल गरी आवश्यक निर्णय लिने आश्वासन दिएका थिए। उनले त्यसक्रममा आफू मातहतका सबै कर्मचारीहरुलाई जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए।
मन्त्री पोखरेलले कर्मचारीको वृत्ति विकास नरोकिने गरी आवश्यक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।