इटहरी- टिपरको जिम्मा सरकारले नै लिनुपर्ने व्यवसायीहरुले बताएका छन्। इटहरीमा पत्रकार सम्मेलन गरी टिपर व्यवसायीले टिपरको सुरक्षा नभएको भन्दै सरकारले सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने बताए।
सडकमा टिपर चलाउन नदिने हो भने त्यसको जिम्मा सरकारले नै लिनुपर्ने उनीहरुको भनाइ छ।
मोरङको सुन्दरहरैचामा सोमबार भएको घटनाप्रति इंगित गर्दै उनीहरुले एउटाले गल्ती गर्यो भन्दैमा सम्पूर्ण टिपरमाथि जाई लाग्नु गलत भएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले आगामी तीन दिन टिपर ग्यारेजमा थन्क्याइने तथा विराटचोकदेखि विराटनगरको रोडसेस चोकसम्म टिपर र्याली निकालिने बताए।
साथै १६ गते प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १६ र १७ गते टिपर ग्यारेजमा थन्काउने उनीहरुको कार्यक्रम छ।
आगजनी भएका टिपरको क्षतिपूर्ति सरकारले दिनुपर्ने पनि उनीहरुले माग गरेका छन्। यसका अलावा माघ १९ गते अन्य महासंघसँगको समन्वयमा थप आन्दोलनको घोषणा गर्ने उनीहरुले बताए।
सुन्दरहरैचाकी लक्ष्मी ढकालको टिपरको ठक्करबाट सोमबार मृत्यु भएको थियो। त्यसपछि विराटचौक-विराटनगर सडकखण्डमा टिपर कुदाउन निषेध गरिएको छ। आफूहरुसँग कुनै समन्वयबिनै सो निर्णय भएकाले विरोधमा उत्रिनुपरेको उनीहरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।