काठमाडौं– युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालले २–१ ले जित्दै कीर्तिमान बनाएको छ। गत वर्ष एकदिवसीय टिमको मान्यता पाएको नेपालले पहिलो पटक एकदिवसीय सिरिज जितेको हो।
पहिलो खेलमा युएईसँग ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा १ सय ४५ रनको जित निकालेर सिरिज बराबरी गरेको थियो। सोमबार भएको निर्णायक खेलमा नेपालले युएईलाई ४ विकेटले हराएर सिरिज कब्जा गरेको हो।
सोमबार भएको खेलमा नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए। पारस म्यान अफ दि म्याच र म्याच अफ सिरिज बने। योसँगै ८ कीर्तिमान पनि बनेका छन्।
पहिलो सिरिज जित
नेपालले पहिलो पटक २–१ ले सिरिज जित्दै रेकर्ड बनायो। यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलेको पहिलो सिरिज १–१को बराबरी खेलेको थियो।
एकदिवसीय खेलमा सबैभन्दा ठूलो स्कोर
युएई विरुद्धको तेस्रो खेलमा नेपालले एकदिवसीय खेलमा ठूलो स्कोर बनायो। नेपालले युएईविरुद्ध ४४.४ ओभरमा २ सय ५५ रन बनाएको हो। यसअघि शनिबार भएको खेलमा बनाएको २ सय ४२ रन नेपालको एकदिवसीय खेलको ठूलो स्कोर थियो।
अहिलेसम्मको ठूलो लक्ष्य पार
नेपालले अहिलेसम्मको ठूलो लक्ष्य पार गर्ने क्रममा २ सय ५५ रन जोडेको हो। यसअघि नेपालले एसिया कप छनोटमा यूएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ७६ रन मात्र जोड्न सकेको थियो।
एकदिवसीय खेलमा बढी रन
नेपालका लागि कप्तान पारस खड्का एकदिवसीय खेलमा बढी रन बनाउने खेलाडी बनेका छन्। उनले ६ एकदिवसीय खेल खेल्दै २ सय ३५ रन जोडे। सोमबार १ सय १५ रनको शतकीय पारी खेलेका पारसले सोमपाल कामीलाई पछि पारेका छन्। सोमपालले ६ इनिङमा १ सय ४६ रन जोडेका छन्।
पहिलो शतक
कप्तान पारस नेपालका लागि पहिलो एकदिवसीय शतक बनाउने खेलाडी बनेका छन्। उनले युएईविरुद्ध ९६ बलमा शतक प्रहार गरेका थिए। त्यसक्रममा उनले १३ चौका र १ छक्का हिर्काएका थिए। यो उनको समग्रमा चौथो तथा युएईविरुद्ध दोस्रो शतक हो।

बढी अर्धशतक
कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक बनाउने खेलाडी पनि बने। युएईविरुद्ध शतकसँगै पारस नेपालका लागि दोस्रो पटक ५० भन्दा बढी रन प्रहार गर्ने खेलाडी बनेका हुन्। अहिलेसम्म नेपालका लागि दुई पटक ५० रन पारस बाहेक कुनै खेलाडीले पनि कटाएका छैनन्।
एकै इनिङमा बढी रन
शतक प्रहार गरेसँगै पारस एकदिवसीय खेलमा नेपालका लागि एकै इनिङमा बढी रन बनाउने खेलाडी बनेका छन्। उनले १ सय १५ रन जोड्दै सोमपाल कामीलाई पछि पारेका हुन्। यसअघि सोमपालले नेदरल्यान्ड्सविरुद्ध ६१ रन जोडेर नेपालका लागि एकदिवसीय खेलमा एकै इनिङमा बढी रन बनाउने रेकर्ड बनाएका थिए।
एकै इनिङमा बढी चौका
कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा एकै इनिङमा बढी चौका प्रहार गर्ने खेलाडी पनि बने। उनले सोमबार १५ चौका प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।