भैरहवा– रुपन्देहीका दुई सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको छ। सरकारी कार्यालयमा सुशासन कायम गर्नका लागि छड्के अनुगमन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए।
सोमबार जिल्लाको मालापोत कार्यालय र नापी कार्यालय भैरहवामा छड्के अनुगमन गरिएको हो। ती कार्यालयमा गरिएको छड्के अनुमगनमा उनले सेवाग्राहीसँग भेटेर कार्यालयबाट प्रवाह हुने सेवाबारे गुनासो सुनेका थिए।
जसमा उनले सेवाग्राहीको समयमा काम भए÷नभएको, कर्मचारीले काम गरेवापत अतिरिक्त रकम माग गरे/नगरेको र काममा ढिलासुस्ती गरे/नगरेको लगायतको विषयमा सोधपुछ गरेका थिए।
सेवाग्राहीहरूसगँ कुराकानी गर्दै प्रजिअ रानाले कुनै कर्मचारीले काममा ढिलासुस्ती गर्दै अनावश्यक दुःख दिएमा र घुस मागेमा आफूलाई सिधा सम्पर्क गर्न आग्रह गरे। ‘अतिरिक्त रकम नदिए यहाँ (मालपोत) मा काम हुँदैन भन्ने आम गुनासो छ। तपाईंहरूले रकम दिनु भयो कि नाइँ,’ उनले सेवाग्राहीलाई प्रश्न गर्दै भने, ‘यदि, कुनै कर्मचारीले अनावश्यक दुःख दिएमा र अतिरिक्त रकम माग गरेमा मलाई खबर गर्नुस, तत्काल कारबाही गर्छु। यसमा कुनै छुट हुँदैन।’
उनले मालपोत र नापी कार्यालयमा अतिरिक्त रकम लिएर काम गर्ने गरेको जनगुनासो बढेपछि यी कार्यालयमा अनुमगन गरिएको बताए।
उनले अनुगमनको क्रममा सेवाग्राहीसगँ सेवाका लागि कर्मचारीहरूले अतिरिक्त रकम माग गरेको विषयमा सोधपुछ गर्दा अतिरिक्त रकम लिने गरेको विषय फेला नपरेको बताए।
अनुगमनको क्रममा मालपोत र नापी दुवै कार्यालयमा अधिकांश कर्मचारीले कार्यालय पोसाक नलगाएको पाइएको छ। त्यस्तै, हाजिरी पुस्तिकामा हाजिर नगरेका, स्विकृती नलई बिदा बसेको, परिचय पत्र नलगाएको, लगायतका किसिमका गरिएको लापरबाहीको विषयमा सम्बन्धित कर्मचारीसगँ स्पष्टिकरण माग गरिएको प्रजिअ रानाले बताए।

‘अनुगमनको क्रममा लापरबाही परेका कर्मचारीहरूको सूची बनाएका छौँ,’ उनले भने, ‘सोहीअनुसार उनीहरुसगँ स्पष्टिकरण माग गरी कारबाही गछौँ।’
सेवा प्रवाहको समयमा कार्यालय प्रमुखले समेत समान्य प्रक्रिया पनि पूरा नगरेको पाइएको प्रजिअ रानाले बताए।
उनले दुवै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड भए पनि सेवाप्रवाह गर्ने कर्मचारीको अभाव रहेको उल्लेख गरे। उनले अनुगमन गरिएको दुवै कार्यालयमा सुधारमा नभएका विषय तत्काल सुधार गरी सेवा चुस्त बनाउन निर्देशन दिए।
दुवै कार्यालयमा वेभसाइट सञ्चालन नभएको, सूचना पाटीको प्रयोग नगरिएको, सेवाग्राहीको चाप व्यवस्थापनको लागि टोकन प्रणाली, सेवाग्राही सहायता कक्ष, समाजिक सञ्जालमा कार्यालयलाई जोड्न नसकेको लगायत कमी कमजोरी अनुगमनमा फेला परेको थियो।
अनुगमनको क्रममा हाजिर नगरेका कर्मचारीहरुको हाजिरी पुस्तिकामा रातो कलम प्रयोग गरी गयल गराइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले बताए।
उनले ‘सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन २०६४’ को दफा १३ र नियमावलीको नियम ६ बमोजिम अनुमगन र निरीक्षण गरिएको बताए।
जिल्ला प्रशासनले जिल्लाका अन्य सरकारी कार्यालयको पनि गोप्य सूचीमा बनाएर अनुगमन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।