काबुल– अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले काबुलमा सरकारसँग वार्ता गर्न विद्रोही तालिबान समूहलाई आग्रह गरेका छन्।
कतारमा गत साता अमेरिकी प्रतिनिधिसँग वार्ता भएसँगै राष्ट्रपति घानीले उक्त आग्रह गरेका हुन्। अफगान टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति घानीले तालिबान समूहलाई अफगानी इच्छाशक्ति प्रदर्शन गर्न आग्रह गरे।
उनले अफगानी जनताको शान्तिको चाहनालाई सम्मान गर्न आग्रह गर्दै अफगान सरकारसँग गम्भीर वार्ता गर्न आह्वान गरे।
कतारमा अमेरिकी प्रतिनिधिसँग जारी वार्तामा अफगान सरकारलाई बेवास्ता गरिएको भन्दै अफगानी अधिकारीहरूलाई यसअघि असन्तुष्टी जनाउँदै आएको थियो। काबुल सरकारले अमेरिका र तालिबानबीच हुने कुनै पनि किसिमको सम्झौतालाई काबुल सरकारले मान्यता दिनुपर्ने जनाएको छ।
तर, तालिबान समूहले घानीको सरकारसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिरहेको छ। उनीहरुले अफगान सरकारलाई 'देखावटी' भन्दै आएको छ।
राष्ट्रपति घानीको कार्यालयले सोमबार नै एक विज्ञप्ति प्रकाशन गरी कतारमा भएको वार्ताका बारेमा अमेरिकी विशेषदूत जाल्मे खलिलजादले राष्ट्रपति अस्रफ घानीलाई जानकारी गराएका जनाएको थियो।
विशेषदूत खलिलजाद कतारमा तालिबान प्रतिनिधिहरूसँग ६ दिने वार्ता गरी आइतबार अबेर अफगानिस्तान आइपुगेका थिए। दुवै पक्षले वार्तामा निकै प्रगति भएको दाबी गरेका छन्।
राष्ट्रपति घानीले भने, 'हामी शान्ति चाहन्छौँ, हामीलाई यो काम जतिसक्दो चाँडो होस् भन्ने लागेको छ तर यो कार्यमा सबैको योगदान देखिनु पर्दछ।'
उनले भने, 'यो युद्धबाट सबैभन्दा बढी पीडित अफगानीहरु नै भएका छन् र शान्ति प्रक्रिया पनि अफगानी अग्रसरतामै हुनुपर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।