काठमाडौं- पूर्वयुवराज पारस शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
नर्भिकको आकस्मिक कक्षमा भर्ना भएका उनलाई मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार पासरलाई देखिएको लक्षणका आधारमा उनलाई हृदयाघात भएको हो। उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।
यसअघि उनलाई दुईपटक हृदयाघात भएको थियो। त्यसबेलै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ।
अपडेट :
नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्था क्रिटिकल तर स्थिर रहेको छ। उनलाई कडा हृदयाघात भएकाे थियो।
हृदयाघात लगत्तै नर्भिक लगिएका उनको एन्जिओप्लास्टी गरिएको उनको उपचारमा संलग्न डा यादवदेब भट्टले जानकारी दिए। ‘उहाँको मुटुको नली बन्द भएको थियो,’ उनले भने, ‘हामीले बन्द भएका नसा खोलिसकेका छौं। तर, अवस्था अझै क्रिटिकल र स्थिर छ।’
डा भट्टका अनुसार पारसलाई ‘म्यासिभ’ हृदयाघात भएको थियो। उनको एउटा नली पूर्ण रुपमा बन्द थियो।
उनलाई आइतबारदेखि नै छाती दुख्ने समस्या देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।