काठमाडौं– युएईले तेस्रो एकदिवसीय खेलमा नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको छ। दुबईको आइसिसी एकेडेमीमा सोमबार टस जितेको नेपालले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको यूएइले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ५४ रन जोड्यो।
युएईका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय शइमान अनवार र मोहमद बोताले अर्धशतक प्रहार गरेका थिए। युएईले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो भने अन्तिम ओभरमा २३ रन जोडेको थियो। अन्तिम ओभरमा सोमपाल कामीले बलिङ गरेका थिए।
त्यसअघि ओपनर अस्फाक अहमेदलाई सोमपाल कामीले तथा चिराग सुरीलाई करण केसीले आउट शून्य रनमै आउट गरेका थिए।
पहिलो १० ओभरको पावरप्लेमा नेपाली बलर सामू युएईका ब्याट्सम्यान निरिह देखिएका छन्। सोमपाल र करणले सुरुवाती १० ओभरमा १४ रन मात्र खर्चिएका थिए। दुवैले ७–७ रन मात्र खर्चिएका थिए।
त्यसपछि भने युएईको स्कोरले गति लिन थालेको थियो। गुलाम सबारलाई सन्दीप लामिछानले १८ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए। लगत्तै मोमहद उस्मान पनि २६ रनमा आउट भए। उनलाई नेपालका कप्तान पारस खड्काले ललित राजवंशीबाट क्याच गराए। त्यसपछि सिपी रिजवान र अनवारबीच पाँचौ विकेटका लागि सय रनको साझेदारी भएको थियो। रिजवानलाई करण केसीले ४५ रनमा आउट गरेका थिए।
बलिङमा नेपालका करण केसीले २ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ४६ रन खर्चिए। यस्तै कप्तान पारस खड्काले पनि २ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट हात पारे।
दुबईको आइसिसी एकेडेमीमा जारी खेलमा विजयी भए नेपालले पहिलो सिरिज जितसहित इतिहास बनाउनेछ। अघिल्लो वर्ष एकदिवसीय मान्यता पाएको नेपाल यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिजमा १–१ को बराबरी खेलेको थियो।
यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।