घोडाघोडी- कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाइ मृत फेला परेका छन्।
नगर क्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा बनाइराखिएको गोठमा पशुचौपायालाई आहार, पिउने पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताए।
उनले भने, 'यहाँ गाईवस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महिना खुला आकाशमुनि हुँदा गाईवस्तु मरेका हुन्। सुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईवस्तु रहे पनि अहिले जम्मा १ सय ५० वटा मात्र छन्।'
नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशुचौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको छैन। नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदिएको अर्का हेरालु भोजबहादुर चौधरीले बताए। आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।
नगरपालिकाभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महिनामा वडा नं ७ का अध्यक्ष धनबहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरी ३० लाख रुपैयाँ उपलब्ध गराएकामा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको नगरपालिका वडा नं ८ अध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका सदस्य भीम बोगटीले बताए।
उनले भने, 'बारम्बार नगरपालिकाको हरेक कार्यपालिका बैठकमा आफूले पशुचौपाया व्यवस्थापन गर्नतर्फ संवेदनशील हुन आग्रह गरे पनि आफ्नो कुरालाई बेवास्ता गरिएकाले आज यस्तो दिन आएको हो।'
नगरप्रमुख ममताप्रसाद चौधरीले व्यवस्थापन गरिएका ठाउँमा पशु मर्न थालेको जानकारी पाएको र ती पशुचौपाया व्यवस्थापनमा केही कमजोरी भएका कारण मरेकाले आफूले नैतिक जिम्मेवारी लिने बताए। 'आफूहरुले जति सकिन्छ गरे पनि अहिले नसक्ने स्थिति आएको हाे।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।