राजविराज– सप्तरीको पूर्व उत्तर क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आतंक बढेको छ।
रातको समयमा हुलका हुल आउने हात्तीले घर भत्काउने, अन्नपात खाने र नष्ट गर्ने तथा मान्छे र पशुचौपाया समेतलाई आक्रमण गर्न थालेपछि सर्वसाधारण आतंकित छन्।
गएराति मात्रै हात्तीले रुपनी र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका करिब आधा दर्जन घर तोडफोड गरी क्षति गरेका छन्।
आधा दर्जन हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीर बहादुर तामाङ, अग्नीसाईर कृष्णा सवरण गाउँपालिका–२ का वल बहादुर राईलगायतको घरमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए।
हात्तीले घर भत्काएर चामाल, कोदो, मकै खाने, क्षति गर्ने तथा भाँडाकुडा, फर्निचर लगायतका सामान समेत नष्ट गर्ने गरेका छन्।
पशुचौपाया र मान्छे समेतलाई आक्रमण गर्न थालेपछि सर्वसाधारण आतंकित भएको अध्यक्ष चौधरीले बताए।
विगत तीन÷चार दिनभित्र हात्तीले २८ वटा गरेको तथा लाखौको बाली र अन्नपात क्षति गरेको उनले जानकारी दिए।
यसअघि गत माघ ५ गते हात्तीको आक्रमणमा परि कञ्चनरुप नगरपालिका ११ की ५३ वर्षीया कौशल्यादेवीको मृत्यु भएको थियो।
बिहान करिब २ वजे गाउँ पसेको हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा कौशल्यालाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीले टाउकोमा किचेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।