काठमाडौं– युएईविरुद्ध सोमबार हुने निर्णायक तथा अन्तिम एकदिवसीय खेल जिते नेपालले इतिहास बनाउनेछ। अघिल्लो वर्ष एकदिवसीय मान्यता पाएको नेपाल यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिजमा १–१ को बराबरी खेलेको थियो।
सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा हुने खेलमा जित्न सके नेपालले पहिलो पटक एकदिवसीय सिरिज जितेर इतिहास बनाउने छ। यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो। खेलपछि नेपाल एकदिवसीय वरीयतामा पनि आउने भएकाले खेल महत्वपूर्ण छ।
पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि तेस्रो खेलमा पनि मुख्य चुनौती ब्याटिङमा देखिएको छ। नेपाल पहिलो खेलमा १ सय १३ रनमै अलआउट भएको थियो। दोस्रो खेलमा सुधारिएको ब्याटिङ गरेको नेपालले २ सय ४२ रन जोड्दा जित सहज बनेको थियो।
खेलअघि नेपालका कप्तान पारस खड्काले सबै खेलाडीले उत्कृष्ट खेल्न चाहेको प्रतिक्रिया दिएका छन्। युएईको पत्रिका द नेसनलसँग कुरा गर्दै पारसले युएई विरुद्धको सिरिज महत्वपूर्ण रहेको बताएका छन्।
'हामीलाई आगामी २ देखि ३ वर्षको राम्रो बाटो बनाउनु छ। त्यसैले अहिलेलाई हाम्रो लागि यो सिरिज महत्वपूर्ण छ। हामी २५–३० जना उत्कृष्ट खेलाडी तयार गर्ने कोशिस गरिरहेका छौं। उनीहरुले देशका लागि चाहिएको बेला खेल्न सकुन्,' खड्काको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।