काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत भएकाे बताएका छन्।
रिपोर्टर्स् क्लबमा शनिबार आयोजित साक्षात्कारमा उनले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने माग राखे। प्रहरी परिचालनदेखि शान्ति सुरक्षाका अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था गरिएकामा मुख्यमन्त्री राउतले आपत्ति प्रकट गरे।
प्रदेश २ को सरकारले यसअघि नै संविधानबमोजिम प्रदेश प्रहरी ऐन ल्याइसकेको उनले स्पष्ट पारे। संविधानको अनुसूचीमा व्यवस्था भएअनुसारको क्षेत्राधिकारभित्र रहेर सङ्घीय, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने मुख्यमन्त्रीकाे जाेड थियाे।
मुख्यमन्त्री राउतले थपे, 'यी दुबै विधेयक फिर्ता गर्नुपर्छ, सबैको मनोभावनाअनुसार आउनुपर्छ। संविधानले प्रदेश सरकारलाई अधिकार दिएको छ। संविधानले प्रदेशभित्र प्रहरी प्रशासन हुने स्पष्ट गरेको छ। प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको छ।'
उनले नेपाल–भारतबीच सदियौँदेखिको राम्रो सम्बन्ध रहेको सुनाउँदै दुबै मुलुकको हित हुने काम गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।