कास्की– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रियाअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन्।
शनिबार पोखरामा आयोजित गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएकाेमा उनले विधिसम्मत प्रक्रियाको पालना सबैले गर्नुपर्ने कुरामा जोड दिए।
नेता नेपालले भने, 'केही नमिलेका विषय छन्, भने छलफल गरौँ, मिलाऔँ। अहिल्यै हतास हुनुपर्ने अवस्था छैन। चरणवद्ध आन्दोलनको बाटोमा नलागौँ।'
सरकारले आफ्ना सोच तथा योजनालाई, साकार पार्न राष्ट्रिय तथा बाह्य पूँजीलाई आमन्त्रण गरेर उत्पादनको क्षेत्रमा लगानी गर्दै जनतालाई सुखी बनाउनुपर्ने र त्यसमा प्रतिपक्षको पनि रचनात्मक भूमिका हुनुपर्ने उनको भनाइ थियो।
आफ्नो पार्टीको तल्लो तहसम्मको एकीकरण प्रक्रियामा ढिलाइ हुँदा कठिनाइ भएको पनि उल्लेख गर्दै नेता नेपालले भने, 'निश्चित मापदण्ड, विधि र प्रक्रियानुसार एकता गरिनुपर्दछ। नभए सामूहिक नेतृत्वमा चल्ने कम्युनिष्ट पार्टीमा अराजकता हुन्छ।'
पार्टी सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विद्येयक पारितभएसँगै चिकित्सा क्षेत्रमा सुधार हुने बताए।
अनशनरत डा गोविन्द केसीले पनि राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने उनको भनाइ थियो।
पार्टी एकता र वर्तमान केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनुपर्नेमा आफूहरूमा एकमत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।