रियो दि जेनेरियो– ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान भएको घटनामा परि अरु ९ जना घाइते भएका र १ सय ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन्।
मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरूले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन्।
पीडितहरुका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन। घटनास्थलमा एक सय भन्दा बढी व्यक्तिहरू छुट्टा छुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन्।
घटनास्थलमा ४ सय २७ भन्दा बढी कामदारहरु काम गरिरहेकोमा १ सय ५० भन्दा बढी कामदार अहिले सम्पर्कमा नरहेको अधिकारीको भनाइ छ।
कामदार बाहेक स्थानीय बासिन्दाहरु पनि बेपत्ता भएको आशंका गरिएकाले बेपत्ता हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धार कार्यमा खटिएकाहरुले बताएका छन्।
बाँध भत्किएर त्यहाँको एउटा कार्यालय र स्थानीय बासस्थानमा असर परेको समाचारमा जनाइएको छ।
खोजी तथा उद्धार कार्यका लागि अग्निनियन्त्रकहरू र अन्य उद्धारकर्ताहरू परिचालित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।