इटहरी- डा गोविन्द केसीको समर्थनमा इटहरीका युवाले सामूहिक अनसन थालेका छन्।
डा केसीले उठाएका मागलाई बेवास्ता गर्दै जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित भएको भन्दै युवाहरू अनसन बसेका हुन्।
लिबरल सोसाइटी नामको संस्थाले आयोजना गरेको अनसन शनिबार बिहान १० बजेबाट सुरु भई २४ घन्टाका लागि जारी रहनेछ। बिहान १८ जनाबाट सुरु भएको अनसनमा थपिने युवाको संख्या बढेर अहिले २८ पुगेको छ।
संस्थाका अध्यक्ष सुवेक्छु देवानले गरिब र लिबरल जनताका लागि लडेका केसीसँगको सम्झौतालाई सरकारले लत्याएकाले उनकै समर्थनमा अनसन थालिएको बताए। चिकित्सा शिक्षा विधेयक पास गराउन सत्तापक्षा हुकुमी शैलीमा लागिपरेको उनको आरोप छ।
विधेयक हिजोमात्रै प्रतिनिधिसभाबाट पारित भएको छ। आफूसँग गरिएको सम्झौताविपरीत पास गर्न लागिएको भन्दै डा केसी गत पुस २५ गतेबाट आमरण अनसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।